सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ३० २०७९
मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र
फाइल तस्बिर।

निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले भौगोलिक रुपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खायाममा सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएको बताए। 

म्याग्दी- गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ-मुस्ताङ-डोल्पा-जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो।

सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो पाँच वर्षयता सडक निर्माण भइरहेको छ। डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८/७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिए। 

'एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै ४० किलोमिटर मार्ग खोलिसकेको छ', उनले भने, 'यसपालि एक लाख ८७ हजार घनमिटर कटिङ र तीन हजार ५१० घनमिटर ग्याबियन पर्खाल लगाउने थालिएको छ।'  

विसं २०७८ चैत १७ गते चार करोड ६४ लाख ८२ हजार २६७ रुपैयाँमा जागृति-कुन्सालीङ जेभीसँग ठेक्का सम्झौता भएको थियो। विसं २०८० असोज २० गतेसम्म सम्झौताको म्याद छ। निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले भौगोलिक रुपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खायाममा सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएको बताए। 

दुई वटा एक्साभेटर (डोजर)ले अहिले सडकको मार्ग खन्ने काम गरिरहेका छन्। केही दिनमै ग्याबियन पर्खाल निर्माण गर्न थप मजदुर परिचालन गरिने प्रतिनिधि रोकायले बताए। समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा सडक निर्माण भइरहेको छ।

मुस्ताङतर्फबाट डोल्पाको सिमाना याकखर्कसम्म सडक पुर्‍याउन लागिएको हो। डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ। 

एघार मिटर फराकिलो सडक निर्माण गर्न लागिएको हो। यो सडकलाई आर्थिक वर्ष २०७६/०७७ मा रु ११ करोड, २०७५/०७६ मा चार करोड रुपैयाँ बजेट विनियोजन भएको थियो।

मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताए। हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन सक्नेछन्। घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने जनाइएको छ। रासस


प्रकाशित : सोमबार, जेठ ३० २०७९०५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend