सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दोबिल्ला-पामे सुरुङमार्ग अध्ययन गर्न स्वीकृति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ३० २०७९
दोबिल्ला-पामे सुरुङमार्ग अध्ययन गर्न स्वीकृति

उक्त सुरुङमार्ग निर्माण भएपछि पर्वतबाट अहिले दुई घण्टा लाग्ने यात्रा अवधि आधा घण्टामै छोटिने अनुमान गरिएको छ। 

पर्वत- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला-घाँटीछिना-पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ। प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ।  

साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिका-८ दोबिल्लादेखि कास्कीको पोखरा महानगरपालिकास्थित पामेसम्म सुरुङमार्ग निर्माण गरिने भएको हो।

यसका लागि सम्भाव्यता अध्ययनको योजनामा समावेश गर्नका लागि मन्त्रालयले सडक विभागलाई स्वीकृति प्रदान गरेसँगै काम अघि बढ्ने छ। यही जेठ २६ गतेको सचिवस्तरको बैठकको निर्णयअनुसार विभागलाई स्वीकृति  प्रदान गरिएको सो मन्त्रालयका शाखा अधिकृत रामजी घिमिरेले जानकारी दिए। उनका अनुसार मन्त्रालयबाट स्वीकृत भएसँगै सडक विभागलाई काम अघि बढाउन पत्राचारसमेत गरिसकिएको छ।
 
सुरुङमार्ग आयोजनाको अध्ययनको काम आगामी आर्थिक वर्षबाटै सुरु हुने जनाइएको छ। सुरुङमार्ग बनेपछि ६० किलोमिटर लामो सडक जम्मा १० देखि १२ किलोमिटरमा पामे, घाटीछिनामा जोडिने भएको छ।

यसका लागि आगामी आर्थिक वर्षमा मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन गर्ने जनाइएको छ। उक्त सुरुङमार्ग निर्माण भएपछि पर्वतबाट अहिले दुई घण्टा लाग्ने यात्रा अवधि आधा घण्टामै छोटिने अनुमान गरिएको छ। रासस


प्रकाशित : सोमबार, जेठ ३० २०७९०५:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend