बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

वायुसेवा निगममा अध्यक्ष युवराज अधिकारीका ११ विकृति!

आइतबार, जेठ २९ २०७९
वायुसेवा निगममा अध्यक्ष युवराज अधिकारीका ११ विकृति!

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफै नियुक्त गरेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पदमा बसेर दर्जन विकृतिको काम गरेको आरोप लगाएका छन्।

निगमको अन्तर्राष्ट्रिय ख्यातीमा आँच पुर्‍याउनेदेखि पदीय भूमिका निर्वाह गर्न नसेको र आर्थिक स्वार्थका लागेको मन्त्रालयको ठहर छ।सोहीआधारमा मन्त्री आलेले अधिकारीलाई स्पष्टीकरण सोध्ने र निलम्बन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका छन्। भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले निगम अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोध्दै निलम्बन गर्ने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

अधिकारीको नेतृत्वमा निगम सञ्चालन गर्दा निगममा थप हानि नोक्सानी हुने मन्त्रिपरिषदमा पुगेका फाइलमा उल्लेख छ।

साथै कार्यकारी अध्यक्षलाई जिम्मेवारीमा राखिरहँदा थप वित्तीय हानि नोक्सानी हुने, कर्मचारीको मनोबल गिर्न गइ निगमलाई प्रतिकूल असर पर्ने देखिएकोले स्पष्टीकरणको जवाफ प्राप्त नहुँदासम्म वा अर्को व्यवस्था नभएसम्म कार्यकारी अध्यक्ष अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २० बमोजिम निलम्बन गर्न विषय उल्लेख छ।

अधिकारीलाई मन्त्री आलेले नै गएको कात्तिकमा निगम कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका थिए।

निगम अध्यक्ष अधिकारीले गरेका कामहरू - 

१) कानूनी आधार र औचित्यबिना ट्वीनअटर विमान भाडामा दिएको।

२) निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा बिना निर्णय जम्बो टोली सहभागी गराइ निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्‍याएको।

३) सार्वजनिक प्रतिस्पर्धा नगराइ एउटा संस्थालाई मात्र सहभागी गराएर सिधै टिकट बिक्री गर्ने कार्य गरेको र यसमा कार्यकारी अध्यक्ष आफैं संलग्न भइ व्यक्तिगत फाइदा लिएको देखिएको।

४) निगमका पदाधिकारीहरू र कर्मचारीहरूलाई अनुशासनमा राख्न नसकेको।

५) सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरूलाई समेटी बैठक सञ्चालन गर्न नसकेको।

६) निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न नसकेको।

७) निगमको व्यवस्थापनलाई चुस्त दुरूस्त बनाउन नसकेको।

८) पदअनुसारको आचरण प्रदर्शन गर्न नसकेको।

९) पदीय कर्तव्य पूरा गर्न नसकेको।

१०) कार्य क्षमताको अभाव देखिएको।

११) कार्यकारी अध्यक्षको यस्ता कृयाकलापबाट राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको अन्तर्राष्ट्रिय ख्यातिमा आँच पुगेको।


प्रकाशित : आइतबार, जेठ २९ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend