सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी नचल्ने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, जेठ २८ २०७९
आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी नचल्ने

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ।

दमौली- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन्। आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए।

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ। ठूला सवारी साधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारी साधन सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालयले उक्त खण्डमा शुक्रबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरुपमा बन्द गरेको छ। रातिको समयमा जोखिम हुने भएकाले यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए। 

सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा हेटौँडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी-२ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। रासस


प्रकाशित : शनिबार, जेठ २८ २०७९०४:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend