सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सांसदको आवाज : बाढी पहिरोबाट जोगाउन पूर्वतयारी भएन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २७ २०७९
सांसदको आवाज : बाढी पहिरोबाट जोगाउन पूर्वतयारी भएन

सांसद यशोदा गुरुङ सुवेदीले पृथ्वीराजमार्गको डम्पिङ भन्ने ठाउँमा पहिरो खस्दा आवागमन बन्दा भएको र स्थानीय तथा प्रादेशिक सरकारको समन्वयमा राजमार्ग खुलाउन पहल भइहरहेको बताइन्। 

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले वर्षायाम सुरुभएसँगै देशका अधिकांश ठाउँमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएकामा सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिराले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन माग गरिन्। उनले भनिन् 'चट्याङ, बाढी पहिराले देशमा धेरै भू-भागमा धनजनको क्षति पुर्‍याइरहेको छ। सरकारको पूर्वतयारी, उद्धार तथा प्रभावकारी पुनःस्थापनाको कार्यक्रम छैन।'
 
सांसद भूपेन्द्रबहादुर थापाले वर्षायाम समय सुरु भएर बाढी पहिरो आउँछ भन्ने थाहा पाउँदापाउँदै पनि पूर्व तयारी नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई उद्धार र राहतमा ध्यान दिन माग गरे।

सांसद यशोदा गुरुङ सुवेदीले पृथ्वीराजमार्गको डम्पिङ भन्ने ठाउँमा पहिरो खस्दा आवागमन बन्दा भएको र स्थानीय तथा प्रादेशिक सरकारको समन्वयमा राजमार्ग खुलाउन पहल भइहरहेको बताइन्। 

सांसद राजेन्द्रकुमार राईले धान रोप्ने समयमा किसान मल नपाएर अप्ठ्यारोमा परेको बताए। सांसद विमला विकले वर्षायामसँगै किसानलाई मल चाहिन्छ भन्ने कुरा सरकारलाई जानकारी भएपनि प्रत्येक पटक मल पाउन मन्त्री नै खोज्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन्।
 
सांसद राजेन्द्रप्रसाद लिङ्देन र महेन्द्रकुमारी लिम्बूले झापा कलम गाउँपालिकामा रेल निर्माणका लागि रोक्का गरेर राखेको जग्गा फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद महेश बस्नेतले सरकारले डिजेल र पट्रोलको मूल्य, निर्माण क्षेत्रमा २५ प्रतिशत सामग्री मूल्य बृद्धि गरेकोमा आपत्ति जनाउँदै जनतालाई राहत दिने कार्यक्रम ल्याउन सरकारसंग माग गरे।

मीनबहादुर विश्वकर्माले यही जेठ २० गते ललितपुरमा गुरुकूलले जात सुनार भन्ने थाहा पाएपछि विद्यार्थीले पढ्न नदिएको र सामाजिकरूपमा छुवाछूत फैलाउने गुरुकूलका प्राचार्य तेजप्रसाद भट्टराई पक्राउ गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद मीना सुब्बाले कृषकले माना रोपेर मुरी उब्जाउने बेलामा समयमा मल नपाउने कारणले गर्दा मारमा पर्ने गरेको हुँदा समयमै किसानलाई मलको व्यवस्थापन गर्न माग गरिन्।

सांसद रामवीर मानन्धरले काठमाडौंको फोहरमैला व्यवस्थापन गर्न जरुरी रहेको र त्यसका लागि संसदीय समितिले आफूलाई अध्यक्ष बनाएर जिम्मा दिएमा आफूले गरेर देखाउने जानकारी दिए।

सांसद रङ्गमती शाहीले अवैधरूपमा नेपालीलाई खाडी मुलुक र अन्य मुलुकमा समेत मानव तस्करी हुने गरेकोप्रति अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
 
सांसद रेनुका गुरुङले सांसदले खानेपानी खान पाउनुपर्ने र जुनसुकै स्थानमा पनि जानका लागि रोक लगाउन नहुने बताइन्। रासस


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०७:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend