शनिबार, साउन १२ गते २०८१    
images
images
images

लगातारको वर्षाले तरकारी किसान चिन्तामा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २६ २०७९
images
images
लगातारको वर्षाले तरकारी किसान चिन्तामा

घर नजिकै बग्ने नदीनाला सिँचाइका लागि बरदान हुुनुपर्नेमा राज्यको उदासिनताले ती बर्सेनि घरखेत बगाउने अभिशाप बनेका बर्दिबास-९ पशुपतिनगरका ६५ वर्षीय किसान महेन्द्र महतो बताउँछन्।

images

महोत्तरी- नयाँ वर्ष सुरु भएदेखि नै लगातार भइरहेको बर्षाले महोत्तरीका तरकारी किसानलाई चिन्ता बढाएको छ। साता /दश दिन तथा दिन बिराएर पर्दै आएको पानीले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिँदै गएपछि किसानको  चिन्ता बढेको हो।

images
images

गत बैशाखमा कैयौँ पटकको हावाहुरीसहितको वर्षाले लहरे तरकारीका बेला (लहरा) लतारेर सोतर बनाएकोसमेत किसानको गुनासो छ। वर्षाको पानीले चुटेर फूल, चिचिला र फलसमेत चाउरिएर झर्न थालेपछि अपेक्षित तरकारी उत्पादन लिन नसकिने चिन्ताले यहाँका किसान पिरोलिएका हुन्। 

images

खासगरी चाहेको बेला सिञ्चित गर्न सकिने, पानी नजम्ने रुखो जग्गामा लगाइने तरकारी बाली लगातार पानी परिरहेपछि गोडमेल र औषधोपचार नपाउँदा पहेँलिएको किसानको भनाइ छ। 'लगातार पानी परिरहेको छ, गोड्नसमेत पाइएको छैन' तरकारी उत्पादक किसान भङ्गाहा नगरपालिका-४ का सत्यनारायण यादव भन्छन्, 'गोडमेल नपाएपछि बारीभरि झार बढेर कीराको प्रकोप बढ्दा बालीबाटै हात धुनुपर्ने स्थिति आउने भैसक्यो।' 

बैशाख/जेठमा उत्पादन लिइने तरकारी पानीले गलाएर चाँडै लहरा मरेको र बारीमा अहिले चिस्यान बढी हुँदा खनजोत गर्न नसकेर भदौरे तरकारी लगाउन नपाइएको किसान बताउँछन्। जेठभित्रै रोपिसक्नुपर्ने भदौरे तरकारी रोप्न ढिलो भैसकेकाले किसानमा चिन्ता  बढिरहेको बताउँदै आएका छन्। 'बारीमा पसिसक्नु छैन अहिले, पानीले माटो गालेको छ' यादव भन्छन्, 'जेठ सकिनै लाग्यो, खै यसपाली भदौरे तरकारी रोप्न पाइने छाँट छैन।'  

images

लगातारको वर्षाले करेला, फर्सी, घिरौँला, झिमनी, लौका, बोडी, चिचिण्डा र परवलसहितका तरकारीका लहरा पहेँलिएर सुकेका छन्। खासमा बैशाख अन्तिम साता र जेठका सातैपिच्छे परेको पानीले हिउँदसम्म उत्पादन दिने लहरे र खुर्सानी, भण्टासहितका तरकारी बाली पहेँल्याएर सुकाएको भङ्गाहा-४ कै अर्का तरकारी किसान सरोज महतो बताउँछन्। 

 महोत्तरी जिल्लाका बर्दिवास नगरको चेरु, माइस्थान , सोनापेटी, ढुङ्ग्रे, भब्सी, चेरु, टुटेश्वर, बरडाँडा र गणन्तासहितका बस्ती तरकारी बालीमा परबल खेतीका लागि पकेटक्षेत्र मानिन्छन्। यी बस्तीमा लगाइएको परबल अहिले गोडमेल गर्न नसक्दा पानीले गालेर लहरा पहेँलिएका , चिचिला र फल पनि कलिलैमा चाउरिएका र चुँडिएर झरेका चेरुका परबल किसान वाणिकराज काफ्ले बताउँछन्। कृषि क्षेत्रकै लामो सरकारी सेवाबाट खेतीमा फर्किएका काफ्ले अवकास प्राप्त सहसचिव हुन्।
 
'भिरालो पाखो जग्गाको परवल त मौसममा सुधार आएर गोडमेल र उपचार गर्न पाए फर्कला कि ! तर, गर्‍हामा लगाइएको परवलको भने अब आस मर्‍यो' काफ्लेले भने, 'म आफै गोडमेल र उपचारको कुरामा जानकार छु, तर, प्रकृतिका अघि बस् चल्दो रहेनछ, परवल लगाएको जग्गा चिस्यानले भासिने बनाएको छ, पसिसक्नु छैन, के को गोडमेल! के को उपचार?'

स्थायी सिँचाइको राम्रो प्रबन्ध नभएपछि थोरै सिँचाइबाट नै गर्न सकिने तरकारी खेतीलाई किसानले जीवनगुजाराको पेसा बनाएका छन्। जिल्लामा कूल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहरको सिँचाइ पुग्छ। बाँकी सबै जग्गा आकासे पानीकै भरमा गर्नुपर्ने भएको हुँदा कम सिँचाइले पुग्ने तरकारी खेती रोजेका किसानलाई अहिले लगातारको वर्षा नै पिरोलो बनेको छ। 

'खेत बारीमा भण्टा, खुर्सानीका बोट र परवल, घिरौंला, झिमनी, रामतोरिया, करेला, फर्सी र लौकासहितका तरकारीका बेला पानीले गालेर सुक्दैछन्' भङ्गाहा-४ पलारका तरकारी किसान सत्यनारायण चौधरी थारुले विरक्तिदै भने, 'बारीमा लरबर फल्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घर गुजारा अब केले टार्ने होला?' जिल्लामा विभिन्न मौसमका गरी वर्षभरिमा १० हजार हेक्टरभन्दा बढी जग्गामा तरकारी खेती हुँदै आएको छ।

जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला, बलवा र मटिहानी नगरपालिका तरकारी बालीका उर्वर पकेटक्षेत्र मान्न्छिन्। तर, पछिल्ला केही वर्षयता मौसमले साथ नदिँदा खेतीबाट अपेक्षित आम्दानी गर्न नसकेको किसानको भनाइ छ। बालीले मागेका बेला पानी नपाएर र नचाहिँदा मुसलधारे पानी परेर उत्पादन लिन नसकेको किसान बताउँछन् । घर नजिकै बग्ने नदीनाला सिँचाइका लागि बरदान हुुनुपर्नेमा राज्यको उदासिनताले ती बर्सेनि घरखेत बगाउने अभिशाप बनेका बर्दिबास-९ पशुपतिनगरका ६५ वर्षीय किसान महेन्द्र महतो बताउँछन्। 'सिँचाईको राम्रो प्रबन्ध भइदिए राम्रोसँग तरकारी फलाउन सकिन्थ्यो' महतोले भने। आफूहरुको यो मर्का तीनै तहका सरकारले बुझीदिनुपर्ने किसान बताउँछन्।

मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष नै किसानलाई राहत दिने बताए पनि ग्रामीण बस्तीका किसानले यो फाइदा लिन सकेका छैनन्। कुलो नहर नपुग्ने जग्गामा सिँचाइका बैकल्पिक उपायको अवलम्वन, कृषि बजारको बैज्ञानिक व्यवस्थापन र आधुनिक खेती प्रणालीका लागि किसानलाई बिउविजन, मल र उपकरण (कृषि ज्यावल) सहज र सुलभ मूल्यमा पाउने व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २६ २०७९०७:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend