आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ९ २०७८
हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री

हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ।

काठमाडौं- हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ।

उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका हुन्।   

दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा अति महत्वपूर्ण भएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यसनिमित्त पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

दिगो विकासको सातौँ लक्ष्य प्राप्तिमा मिश्रित एवं असमान ढङ्गले प्रगति भएको वास्तविकता प्रस्तुत गर्दै उहाँले छरिएका बस्ती, कठिन भौगोलिक भूभाग र न्यून आम्दानी भएका नेपालजस्ता देशमा कोभिड–१९ को महमारीले अतिरिक्त चुनौती थपिएको बताए। 

‘यस्ता जटिल परिस्थितिको सामाना गर्दै हामीले स्वच्छ ऊर्जा उत्पादनको लक्ष्यलाई निरन्तर अघि बढाउनुपर्छ’, प्रधानमन्त्री देउवाले भने। अपार जलस्रोत र अन्य नवीकरणीय ऊर्जाको उपयोग गर्दै जलवायु परिवर्तन प्रतिरोधी विकासको पथमा अग्रसर हुने तथा वायु प्रदूषण शून्यमा झार्ने नेपालको प्रतिबद्धता उनले व्यक्त गरे।

जलवायु परिवर्तनका असरविरुद्ध लड्न, गरिबी घटाउन, लैङ्गिक समानता कायम गर्न, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षालगायत दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जाले उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रधानमन्त्री देउवाले बताए।

उच्चस्तरीय संवादलाई धेरै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री, सांसद तथा राष्ट्रसङ्घका उच्च अधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको नियोगले जनाएको छ। 


प्रकाशित : शनिबार, असोज ९ २०७८०६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend