सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

'डिजिटल रूपान्तरणमार्फत नागरिक सशक्तिकरण गर्ने'

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २५ २०७९
'डिजिटल रूपान्तरणमार्फत नागरिक सशक्तिकरण गर्ने'

नेपाल सरकारले सन् २०२५ सम्म सबै गतिविधिलाई डिजिटल रूपमा लागु गर्न नीतिगत सुधार र नयाँ कानुन निर्माणमा अभिप्रेरित गर्ने लक्ष्य राखेको उनको भनाइ थियो।

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल रूपान्तरणमार्फत नेपाली नागरिकलाई सशक्तिकरण गर्ने प्रतिबद्धता गरेका छन्।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा जारी विश्व दूरसञ्चार विकास सम्मेलनलाई आज उनले सम्बोधन गर्दै सो प्रतिबद्धता गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ। उनले विश्वव्यापी सेवा दायित्व कोष प्रयोग गरेर सम्पर्क सञ्जालमा नजोडिएकाहरूलाई जोड्न, डिजिटल अर्थतन्त्रमा संलग्न व्यक्तिहरूको क्षमता सुधार गर्न तथा डिजिटल सरकारका लागि आधार अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए।

यस वर्षको ‘दिगो विकास हासिल गर्न सम्पर्क सञ्जालबाहिर नजोडिएकालाई जोड्ने’ विषयवस्तु नेपालका लागि सबैभन्दा उपयुक्त रहेको उल्लेख गर्दै मन्त्री कार्कीले यसका लागि नेपालको सन्दर्भ भौगोलिक, गरिबी, र डिजिटल साक्षरता चुनौती रहेको अवगत गराए। नेपाल सरकारले सन् २०२५ सम्म सबै गतिविधिलाई डिजिटल रूपमा लागु गर्न नीतिगत सुधार र नयाँ कानुन निर्माणमा अभिप्रेरित गर्ने लक्ष्य राखेको उनको भनाइ थियो।

उनले सम्मेलन संघका साझेदार सदस्यबीच सहकार्यलाई सुदृढ बनाउनका लागि छलफल गर्न र डिजिटल विभाजन कम गर्न तथा जनताको डिजिटल क्षमता अभिवृद्धि गर्ने उपयुक्त मञ्च भएको आफूले महसुस गरेको उल्लेख गरे।
 
नेपाल ‘डिजिटल नेपाल फ्रेमवर्क २०१९’को पछि डिजिटल रूपान्तरणको अवस्थामा रहेको बताउँदै मन्त्री कार्कीले डिजिटल नेपाल फ्रेमवर्कले डिजिटल प्रयत्नबाट आर्थिक वृद्धिमा कसरी योगदान गर्ने तथा छोटो अवधिमा प्रमुख चुनौतीहरू समाधान गर्न नयाँ तरिका र विश्वव्यापी अर्थतन्त्रमा सहभागिताका अवसर पहिचान गर्ने मार्गचित्र प्रदान गर्ने जानकारी गराए।  
 
सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही जेठ २० गते त्यसतर्फ प्रस्थान गरेका थिए। संघको आयोजनामा जुन ६ देखि १६ तारिखसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा सुरेन्द्रलाल हाडालगायत सहभागी छन्। सम्मेलनमा सहभागी भई मन्त्री कार्की यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, जेठ २५ २०७९११:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend