सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

इम्बोस्डबारे विभागको स्पष्टोक्ति : सबैलाई अनिवार्य गरिएको होइन

मंगलबार, जेठ २४ २०७९
इम्बोस्डबारे विभागको स्पष्टोक्ति : सबैलाई अनिवार्य गरिएको होइन

विरोध भएपछि विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘साउन १ गते बिहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट जडान भएको हुनुपर्नेछ भन्ने मनसाय अलिकति पनि होइन।’

काठमाडौं- सर्वत्र विरोध भएपछि यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको प्रष्टीकरण दिएको छ। विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै २०७८ कात्तिक २२ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको जिकिर गरेको छ। 

गएको शुक्रबार सूचना प्रकाशित गर्दै विभागले असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नु पर्ने नभए कारवाही गर्ने चेतावनी दिएपछि संसददेखि सामाजिक सञ्जाल तथा आम मानिसले आलोचना गरेका थिए। 

विरोध भएपछि विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘साउन १ गते बिहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट जडान भएको हुनुपर्नेछ भन्ने मनसाय अलिकति पनि होइन।’

२२ कात्तिकमा प्रकाशित राजपत्रमा १ मंसिर २०७८ देखि नयाँ दर्ता हुने सवारी साधन, १ फागुनदेखि नामसारी हुने सवारी साधन र १ जेठ २०७९ देखि सवारी धनी प्रमाणपत्र नवीकरण हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने उल्लेख थियो। विभागले राजपत्रको सूचनामा तोकिएको सवारी साधनमा मात्र अनिवार्य गरेको र अन्य सवारी साधनमा सम्बन्धित सवारी कार्यालयहरुले लट नम्बरअनुसार तोकेर सूचना निकालेर इम्बोस्ड प्लेट जोड्दै जाने बताएको छ।

अहिलेकै गतिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा ४० दिनमा २५ लाख सवारी साधनमा जडान गर्न नसकिने विभागले स्वीकार गरेको छ। तर विभागले राजपत्रको सूचनाअनुसार अनिवार्य गरेका सवारी साधनमा जोडिएको वा नजोडिएको भन्नेबारेमा भने अनुगमन गर्ने उल्लेख गरेको छ। 

अहिले करिब २ लाख ५० हजार इम्बोस्ड नम्बर प्लेट छापिएर भण्डारमा रहेको जानकारी विभागले गराएको छ। यस्तो अवस्थामा सवारी धनीले इम्बोस्ड प्लेट स्वेच्छिक मात्रै ठानेको र सवारी कार्यालयहरुले पनि उदासीन भएर सेवा दिइरेको विभागको भनाइ छ। यसले गर्दा ठेक्का पाएको कम्पनीलाई गर्नुपर्ने भुक्तानीको दायित्व सिर्जना हुने अवस्था आएको विभागले स्पष्ट पारेको छ। 

इम्बोस्ड प्लेट जडानका लागि आवश्यक सबै पूर्वाधार तयार रहेको दाबी पनि विभागको छ। विभागले आवेदन प्रणाली, पर्सानलाइजेसन प्रणाली, फिटिङ गर्ने जनशक्ति, प्लेट ढुवानी व्यवस्था पनि तयार रहेको बताएको छ।

विभागले इम्बोस्ड प्लेट रिड गर्ने आरएफआईडी गेट इम्बोस्ड प्लेटका लागि अनिवार्य नरहेको र उपयोगिता वृद्धि गर्ने संरचना मात्रै भएको बताएको छ। परीक्षणका रुपमा गेट राखिएको भन्दै उसले १० वटा गेट जडानका लागि उपकरण आयात भइसकेको दाबी विभागले गरेको छ। 


प्रकाशित : मंगलबार, जेठ २४ २०७९१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend