सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

काठमाडौं महानगरमा घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २४ २०७९
काठमाडौं महानगरमा घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइने

आजदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति गरेपनि सिसडोलका स्थानीयले पुनः अवरोध गरेका छन्।

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन नगरिने बताएका छन्। उनले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत अपिल गर्दै घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै फिर्ता पठाइने जनाएका छन्। 

'अहिले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषय जटिल बनेको छ, यसको व्यवस्थापन गर्नु तपाईं र मेरो साझा दायित्व हो', उनले नागरिकलाई आग्रह गरेका छन्। उनले कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने र नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहर छुट्याएर निकालिनुपर्ने बताएका छन्।

'उपत्यकाको फोहोर व्यवस्थापनको समाधान अन्त कतै फ्यालेर वा थुपारेर मात्रै हुँदैन, स्रोतबाट नै कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ। जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन', उनले अपिल गरेका छन्।     

यसअघि जे जसरी चलेको भए पनि आगामी दिनदेखि हरेक फोहरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा सहयोग गरी आफ्नो कर्तव्य पूरा गरिदिनेमा आफू ढुक्क रहेको उनले बताए। नागरिकले स्रोतमा नै  छुट्याइसकेको फोहोरलाई कामपाले पुनः एकै ठाउँमा मिसाउने गल्ती नगर्ने पनि उनले अठोट गरेका छन्।

यसैबीच सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति गरेपनि सिसडोलका स्थानीयले पुनः अवरोध गरेका छन्। रासस  


प्रकाशित : मंगलबार, जेठ २४ २०७९०८:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend