बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

प्रधानमन्त्रीको चासोपछि पनि सेयर बजारमा देखिएन सुधार, कहिले थामिएला?

सोमबार, जेठ २३ २०७९
प्रधानमन्त्रीको चासोपछि पनि सेयर बजारमा देखिएन सुधार, कहिले थामिएला?

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पुँजी बजारमा देखिएको समस्या समाधानको पहलमा लाग्न निर्देशन दिँदासमेत सेयर बजारमा सुधार देखिन सकेको छैन। गएको साताभर ओरालो लागेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा पनि गिरावट आएको छ। 

नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा आइतबार प्रधानमन्त्री देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका थिए।

यसका साथै सेयर लगानीकर्ताहरूले सेयर बजार सुधारका लागि भन्दै सरोकारवालासँग निरन्तर कुराकानी गरिरहेका छन्। तर यो सबैमा लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ। 

राष्ट्र बैंकका गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन - सेयर बजारको समस्या समाधान गर्नू राष्ट्र बैंकका गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन - सेयर बजारको समस्या समाधान गर्नू

यो साताको पहिलो कारोबारमा सोमबार सेयर बजारमा १२.९२ अंकको गिरावट देखिएको छ। १२.९२ अंकले घटेर २०६५.७८ बिन्दुमा झरेको बजारमा सोमबार १ अर्ब २७ करोड रुपैयाँको मात्र कारोबार भएको छ। 

गएको साताभर पनि सेयर बजारमा लगातार गिरावट देखिएको थियो। गएको साता पाँच दिनको कारोबारमा १४५.०९ अंकको गिरावट देखिएको थियो। लगातार भइरहेको गिरावटले सेयर बजारमा थामिने बिन्दु भेटिन कठिन देखिएको छ। बजारको घट‍्दो ट्रेन्ड कहाँ रोकिन्छ भन्‍ने यकिन आधारसमेत देखिँदैन। 

गएको साता सोमबार ५०.३३ अंकले घटेको बजार मंगलबार ३५.५३ अंकले घटेको थियो। बुधबार ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा झरेको बजार बिहीबार पुन: घटेको हो। बिहीबार १८.२६ अंकले घटेर बजार २११२.४७ बिन्दुमा झरेको बजार शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको थियो। 

अहिलेको अवस्थाले बजेटपछि बजार थामिने आशमा रहेका लगानीकर्ता निराश भएका छन्। गएको साता आइतबार संसदमा बजेट प्रस्तुत भयो। जसमा सेयर बजारको चाख लिइरहेकाहरूले खास सम्बोधन पाएनन्। त्यसले गर्दा पनि सोमबारदेखि नै कारोबारले लिएको नयाँ बाटो अनिश्चित र आधारहीन देखिएको विश्लेषकहरू बताउँछन्। 

बजेटमा प्रष्ट सम्बोधन नभेटेका लगानीकर्ता अब मौद्रिक नीतिको पर्खाइमा रहेको विश्लेषकहरू बताउँछन्। मौद्रिक नीतिमार्फत सेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले पनि विश्वस्त हुने आधार भने भेटिँदैन। अहिले बजार वियरिस ट्रेण्डमा भएकोले अझै कतिसम्म तल जान्छ भन्ने अनुमान गर्न विश्लेषकहरूले नै सकेका छैनन्।  

सेयर बजारको घट्दो ट्रेण्डले अघिल्लो बुलको १८०० कै बिन्दु पछ्याउन थालेको विश्लेषण हुन थालेको छ। नेप्से परिसूचक गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो। त्यसयता केही समयको उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। उतारचढावको अवस्थालाई हेरेर बजारमा करेक्सन भनिरहेकाहरू पनि अहिले वियरिस ट्रेन्डमा नै गएको बताइरहेका छन्।

घट्दो सेयर बजार सुधारका लागि लगानीकर्ताको १९ माग घट्दो सेयर बजार सुधारका लागि लगानीकर्ताको १९ माग

 


प्रकाशित : सोमबार, जेठ २३ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend