बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

घट्दो सेयर बजार सुधारका लागि लगानीकर्ताको १९ माग

धिताेपत्र बाेर्डका अध्यक्ष भन्छन् - माग सम्बोधनमा सकारात्मक छु

सोमबार, जेठ २३ २०७९
घट्दो सेयर बजार सुधारका लागि लगानीकर्ताको १९ माग

काठमाडौं- सेयर लगानीकर्ताले नेपाल धिताेपत्र बाेर्डमा सुधारका लागि भन्दै १९ बुदे मागपत्र पेश गरेका छन्।

साेमबार मागपत्र बुझ्दै बाेर्डका अध्यक्ष रमेश हमालले मागप्रति आफू सकारात्मक भएकाे बताए। उनले सम्बाेधन गर्न सकिने माग तत्काल गर्ने प्रतिवद्वतासमेत जनाए।

लगानीकर्ताले कमिसन घटाउनेदेखि सेयरकर्जा धिताे खुला गर्न पहल गर्नुपर्नेसम्मका माग लगानीकर्ताले राखेका छन्। 

यस्ता छन् १९ बुदे माग 

१) विगतको एमाले सरकारले साढे ३ वर्षअघि नै र वर्तमान अर्थमन्त्रीले २ महिनाअघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पूरा हुनैपर्ने। 

२) वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरूलाई १ अर्ब चुक्ता पुँजी कायम गरी तत्काल ब्रोकर लाइसेन्स वितरण गर्नुपर्ने। 

३) कमिशन ब्रोकर र फुल ब्रोकरहरूको वर्गीकरण गरी बर्तमान ब्रोकरहरूको चुक्ता पुँजी वृद्धि गर्न लगाई २ वर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको १ अर्ब पुर्याउनुपर्ने। 

४) ब्रोकरहरूको शाखा बिस्तार र उनीहरूले निर्माण गरेको टीएमएस संचालनका लागि तत्काल स्वीकृति दिनुपर्ने। 

५) गैरआवासीय नेपालीहरूलाई तत्काल पुँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने। 

६) सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरूले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने। 

७) नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने। 

८) सूचीकृत साना कम्पनीहरूका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरूको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, वाणिज्य बैंकहरूलाई खुला छाड्नुपर्ने। 

९) ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरू घटाउनुपर्ने। 

१०) दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पुँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने। 

११) बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वतः इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने। सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वतह रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने।

१२) सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने। 

१३) सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरू प्रयोगमा ल्याउनुपर्ने। 

१४) बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरूले पहिलो वर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने। 

१५) राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरूमार्फत मार्जिन ट्रेडिङ ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने। 

१६) नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरू सार्वजनिक गर्न पाउने ब्यवस्था कडाईका साथ लागु गर्ने। 

१७) मर्जरमा जाने कम्पनीहरूको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने। 

१८) १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरूको सवालमा असार मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने। 

१९) पुँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्वतयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने।


प्रकाशित : सोमबार, जेठ २३ २०७९०८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend