आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

‘विश्व बैंकको लगानी रहेका परियोजना समयमै सम्पन्न हुन्छ’

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ८ २०७८
‘विश्व बैंकको लगानी रहेका परियोजना समयमै सम्पन्न हुन्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच  शिष्टाचार भेटमा विश्व बैंकले लगानी गरेका परियोजनाको काम समयमा नै सम्पन्न हुने बताएकी छिन्। 

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच  शिष्टाचार भेटमा विश्व बैंकले लगानी गरेका परियोजनाको काम समयमा नै सम्पन्न हुने बताएकी छिन्। 

मन्त्रालयमा शुक्रबार भएको भेटमा विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ।
 
मन्त्री भुसालले नेपालको विकासमा बैंकले पुर्‍याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरिन्। 'हामी छिटो विकास गर्न चाहन्छौँ, हामीलाई समयको अधिक महत्व छ' उनले भनिन्। मन्त्री भुसालले जनताको अधिकारका लागि आफूले निरन्तर सङ्घर्ष गरेको उल्लेख गर्दै वातावरण र जनताको अधिकार एवं पहिचानाका विषयमा सधैँ सचेत रहने विश्वास दिलाइन्।

भेटमा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालको आर्थिक विकासमा विश्व बैंकले पुर्‍याउँदै आएको सहयोगका विषयमा जिज्ञासा राखेका थिए। नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नति गरिबी निवारणलगायत क्षेत्रमा विश्व बैंकले लगानी गर्दै आएको उल्लेख गर्दै उनले आफूहरू ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताए।

छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण लाइन समयमै सम्पन्न नहुँदा ऊर्जा खेरजाने अवस्था आएको उल्लेख गर्दै ऊर्जा विकासका लागि आफूहरूलाई समयको चाप रहेको बताए।

छलफलमा मन्त्रालयका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिवद्वय मधुकरप्रसाद राजभण्डारी र बाबुराम भण्डारीको सहभागिता थियो। त्यसैगरी विश्व बैंकको तर्फबाट उपाध्यक्ष सेफरसहित यातायात तथा दक्षिण एशियाको पूर्वाधार हेर्ने निर्देशक गुअङझे चेन तथा नेपाल, माल्दिभ्स र श्रीलङ्का लागि विश्व बैंकका देशीय निर्देशक फारिस हादाद-जेर्भाेसको सहभागिता थियो।
 
विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा नेपाल-भारत विद्युत् प्रशारण तथा व्यापार आयोजनाअन्तर्गत नेपालभित्रको विद्युत् प्रशारण प्रणाली सुदृढीकरण र नेपाल-भारतबीचको विद्युत् व्यापार सहजीकरण गर्दै आएको छ।

सोहीअन्तर्गत ४०० केभीको हेटौँडा-ढल्केबर-इनरुवा प्रशारण लाइन र हेटौँडा-भरतपुर-बर्दाघाट २२० केभीको प्रशारण लाइन विश्व बैंकको सहुलियत पूर्ण ऋणमा निर्माण भइरहेको छ। विश्व बैंकको सहुलियत ऋणमा एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत अध्ययन भइरहेको छ। यही बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालसहितको सरकारी टोली र विश्व बैंकका उपाध्यक्ष सेफरको टोलीले माथिल्लो अरुणको स्थलगत अवलोकन गरेको थियो। रासस


प्रकाशित : शुक्रबार, असोज ८ २०७८११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend