सोमबार, असोज ७ गते २०८१    
images
images

तारा एयरको विमान दुर्घटनामा परेका सबैको शव भेटियो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १७ २०७९
images
images
तारा एयरको विमान दुर्घटनामा परेका सबैको शव भेटियो

तारा एयरको जहाज  हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

images
images

बेनी- मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन-एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ।

images
images
images

विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ। दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए।

कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ। तारा एयरको जहाज  हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो। थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ।

images

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए। सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका-७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए। उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए। रासस


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend