सोमबार, असोज ७ गते २०८१    
images
images

नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने सांसदहरूको सुझाव

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १२ २०७९
images
images
नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने सांसदहरूको सुझाव
फाइल तस्बिर

'नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, विभेदरहित समाज, सामाजिक न्याय र हिंसारहित समाज निर्माण गर्ने खालको भएको धारणा'

images
images

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्।

images
images
images

नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पट्रोलियम पद्धार्थको विकल्पका रुपमा विद्युत्को प्रयोग बढाउन सरकारको ध्यान नीति तथा कार्यक्रम हुनुपर्ने सुझाव दिइन्। उनले नेपालमा पहिलादेखि सञ्चालनमा आएका उद्योग कलकारखाना पुनः सञ्चालन गर्नुपर्ने र कृषिजन्य उत्पादनमा वृद्धि गर्नुपर्ने सुझाव दिइन्।

नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले सरकारको नीति तथा कार्यक्रममा रैथाने, परम्परागत पेसालाई आधुनिकीकरण गर्दै व्यवस्थित गर्न विदेशबाट ल्याउने कच्चापदार्थमा कर छुट दिनुपर्ने सुझाव दिए। उनले नेपालका परम्परागत सीप, पेसा, कला र संस्कृतिको संरक्षणका लागि सरकारको कार्यक्रम हुनुपर्ने बताए।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले राज्यको पूर्ण संरचनाले पनि खर्च बढाएको हुनाले प्रदेशको संरचना हटाएर विकास बजेटमा खर्च गर्न सुझाव दिए।

images

माओवादीका मायाप्रसाद शर्माले नीति तथा कार्यक्रममा पर्यटन र कृषिमा सरकारले अलि बढी ध्यान दिने कुरा राम्रो भएको र शान्तिप्रक्रियाको काम छिटो पूरा गर्नुपर्ने सुझाव दिए।

एकीकृत समाजवादीका गोमादेवी तिमिल्सिनाले हेटौँडा उद्योग, बाँसबारी छालाजुत्ता, जनकपुर चुरोट कारखाना आदि पुनः सञ्चालन गर्न सरकारको नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने सुझाव दिइन्।

यस्तै सांसद खिमलाल देवकोटाले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले ध्यान दिनुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुनुका साथै एउटा मात्र धावनमार्ग भएकाले ठूलो अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा बनाउनुपर्ने सुझाव दिए।

नेकपा (एमाले)का सांसद तुलसाकुमरी दाहालले जनताको भावनाविपरीत सरकारको नीति र कार्यक्रम आएको आफूलाई महसुस भएको र वर्षाको समयमा मानव जीवन अस्तव्यत हुने विषयलाई सरकारले ध्यान नदिएको बताइन्।

एकीकृत समाजवादीका नन्दा चपाइँले सुकुम्बासी समस्याको समाधान गर्नुपर्ने र प्रत्येक वर्ष कृषकलाई मलको अभाव हुने हुँदा नेपालमै मल कारखाना खोज्नुपर्ने सुझाव दिइन्।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले वर्तमान सरकार संविधानको रक्षा, चैतभरिमा कोभिडविरुद्धको खोप लगाउने र निर्वाचन सम्पन्न गर्न आएको उल्लेख गर्दे त्यो काम पूरा गर्ने चरणमा भएको बताए। उनले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, विभेदरहित समाज, सामाजिक न्याय र हिंसारहित समाज निर्माण गर्ने खालको भएको धारणा राखे।

माओवादीका सांसद राधेश्याम पासवानले स्वास्थ्य, शिक्षा, कृषिमा बढी जोड दिएको राम्रो नीति भएको र नागरिकताबाट वञ्चितलाई नागरिकता प्रदान गर्ने खालको राज्यको कार्यक्रम भएको बताए। माओवादीकै गोपीबहादुर सार्की (अछामी)ले सरकारको नीति तथा कार्यक्रम आत्मनिर्धारमुखी भएको तथा पूर्वाधार विकास, रोजगारी र स्वास्थ्य शिक्षालाई ध्यान दिएको बताए।

एमालेका अर्का सांसद इन्दु कडरियाले सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म खाजाको व्यवस्था गर्ने भनिएको तर गुणस्तरीय शिक्षालाई ध्यान दिएको नदेखिएको धारणा राखिन्।

कांग्रेसका सांसद अनिता देवकोटाले नीति तथा कार्यक्रम राम्रो भएको र श्रमको सम्मान गर्ने खालको बजेट भएको तथा  शिक्षा र स्वास्थ्यका विषय सर्वसुलभ उपलब्ध गराउने खालको हुनुपर्ने सुझाव दिइन्।

 राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते शुक्रबार ११ बजे बस्नेछ। रासस


प्रकाशित : बिहीबार , जेठ १२ २०७९०९:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend