शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

उच्च बिन्दुबाट १ हजार अंक घट्यो नेप्से, लगानीकर्ताले बजेट कुर्न थालेपछि भारी गिरावट

सोमबार, जेठ ९ २०७९
उच्च बिन्दुबाट १ हजार अंक घट्यो नेप्से,  लगानीकर्ताले बजेट कुर्न थालेपछि भारी गिरावट

काठमाडौं- सेयर बजार उच्च बिन्दुबाट १ हजार अंकले घटेको छ। यसअघि नेप्से परिसूचक ३१९९ को बिन्दुमा पुगेको थियो। साेमबार नेप्से उच्च बिन्दुबाट १ हजार अंक घटेर २२०० को बिन्दुमा आइपुगेको छ।

बजेटको अगाडि सेयर बजार सकारात्मक नहुने संकेत देखिएको छ। सेयरलगानीकर्ताहरु पुँजी बजार सम्बन्धमा बजेटमा सकारात्मक विषय आउने चर्चा चलिरहदाँसमेत अझै खरिद गर्ने मुडमा नदेखिदाँ प्रत्येक दिन भारी गिरावट आएको छ।

चुनाव अगाडि केही अंक बढेको भएपनि चुनावपछि लगातार सेयर बजार ओरालो लागेको छ। सेयर बजारमा स्थानीय तहको चुनावसँगै बढ्ने अपेक्षा गरिएकोमा घट्दो क्रमले नै निरन्तरता पाएको छ। साताको पहिलो दिन सोमबार पनि सेयर बजार भारी अंकले गिरावट आएको छ। 

साताको पहिलाे कारोबार दिन सोमबार ३४.२१ अंकले घटेर २२००.८८ बिन्दुमा रोकिएको छ। सोमबार कारोबार रकम १ अर्ब ३६ करोड रुपैयाँ भएको छ। 

nepse.PNG

सरकारले पुँजी बजारमा लाग्दै आएको पुँजीगत लाभकर समेत घटाउने तयारी गरेको छ। तर लगानीकर्ता विश्वस्त नहुँदा बजार बढ्न सकेको छैन। 

चुनावसँगै लगानीकर्ताको विश्वास फर्कन थाल्ने विश्लेषकहरूले बताइरहँदा अझै विश्वस्त हुने यकिन आधार देखिएको छैन। लगानीकर्ताले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको पर्खाइमा रहेकोले बजार कतिसम्म घट्छ भन्ने अनुमान अझै लगाउन सकेका छैनन। घट्दो ट्रेन्डमा सेयर बजार अनुमानभन्दा बाहिर जाँदा अब कुन बिन्दुमा पुगेर थामिन्छ भन्ने यकिन आधार नदेखिएको विश्लेषकहरू बताउँछन्। 

गत साताको अन्तिम दिन शुक्रबार पनि बजार १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको थियो। लगानीकर्ताको साथ नपाउँदा सेयर बजारमा लगातार गिरावटको अवस्था आइरहेको हो। लगानीकर्ताले विश्वस्त हुने आधार देखिरहेका छैनन्। यसअघि बिहीबार २३.५१ अंकले घटेर बजार २२५०.९१ बिन्दुमा झरेको थियो।

गएको साताको पहिलो कारोबार भएको दिन मंगलबार नेप्से ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा रोकिएको थियो। बुधबार ८.९० को झिनो अंकले बढेर २२७४.४२ बिन्दुमा पुगेको बजार बिहीबार पुन घटेको थियो। बजारले थामिने आधार नभेट्दा २२०० को बिन्दुबाट पनि तल जाने देखिएको छ। 


प्रकाशित : सोमबार, जेठ ९ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend