शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

भैरहवाबाट कुवेत उड्दा २० प्रतिशत सस्तो 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
भैरहवाबाट कुवेत उड्दा २० प्रतिशत सस्तो 

जजिराका लागि जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहका अनुसार पश्चिम नेपालका यात्रुलाई धेरै सस्तो पर्ने छ। 

काठमाडौं- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ। कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध -कुवेत उडान सुरु गरिसकेको छ। 

काठमाडौं विमानस्थलबाट समेत नियमित उडान गरिरहेको जजिराले भैरहवाबाट पनि सुरु गरेको छ। 

नेपालीको राम्रो वैदेशिक रोजगारीको गन्तव्य कुवेत जानका लागि काठमाडौंको तुलनामा भैरहवाबाट यात्रा गर्दा २० प्रतिशत सस्तो हुने भएको छ। 

काठमाडौंबाट कुवेत जाँदा ३३ हजार रुपैयाँ भाडा रहेकोमा भैरहवाबाट यात्रा गर्दा २६ हजार ४ सय रुपैयाँ भाडा पर्ने भएको छ।

जजिराका लागि जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहका अनुसार पश्चिम नेपालका यात्रुलाई धेरै सस्तो पर्ने छ। 

उडानका लागि भने सुरुमा केही समस्या छन्। श्रम स्वीकृति तथा अन्य सेवाहरू भैरहवामा उपलब्ध नहुँदा यात्रुलाई काठमाडौं आउनैपर्ने बाध्यता छ। 

पर्यटकलाई केन्द्रित गर्ने भनेर विमानस्थल निर्माण गरिएको भएपनि सुरुवातमा श्रमिक केन्द्रित बजार प्रबर्द्धन गर्नुपर्ने निष्कर्षमा नेपाल नागरिक उड्डयन प्राधिकरण पुगेको छ। तर सिंह भने यही उडानबाट विस्तारै पर्यटक आउने दाबी गर्छन्। 

'कुनै पनि उडान हुनका लागि यात्रु चाहिन्छ। सजिलै यसरी यात्रु पाइने भनेको अहिलेका लागि हाम्रो श्रम बजार नै हो। त्यसैले यसबाट सुरु गरेपछि भविष्यमा पर्यटक पनि ओहोरदोहोर गर्छन्' उनले भने। 

उडानको निरन्तरताकै लागि जजिराले सुरु गरेको र त्यसका लागि सरकारको पनि केही सहयोग चाहिने उनको भनाइ छ। अहिलेका लागि श्रम स्वीकृति तथा वैदेशिक रोजगारीमा पठाउने कम्पनीको सेवा भैरहवामा उपलब्ध हुने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ। 

'अहिले हामीले ७५ हजार बस भाडा तिरेर काठमाडौंका यात्रुलाई भैरहवा लिएर जहाज चढाइरहेका छौं। यसरी त व्यावसायिक उडान निरन्तर हुँदैन' उनले भने ' श्रम मन्त्रालयले यसमा चासो दिएको छ। छिटै काम होला भन्ने विश्वास गरौं।' 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०५:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend