शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विद्युतीय कारको व्यवसाय बढाउन हुन्डाई मोटरले १६.५ अर्ब डलर लगानी गर्ने

बुधबार, जेठ ४ २०७९
विद्युतीय कारको व्यवसाय बढाउन हुन्डाई मोटरले १६.५ अर्ब डलर लगानी गर्ने

हुन्डाई ग्रुपले २०३० सम्म विश्वभर ३२ लाख ३० हजार विद्युतीय कार उत्पादन क्षमता पुर्‍याउने जनाएको छ।

काठमाडौं- कोरियाली कार उत्पादन हुन्डाई मोटर ग्रुपले विद्युतीय कार उत्पादन तथा बिक्री बढाउन ठूलो लगानी गर्ने भएको छ। ग्रुपले बुधबार कोरियामा विद्युतीय सवारीको व्यवसाय विस्तार गर्न १६ अर्ब ५४ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको हो। 

हुन्डाई मोटर ग्रुपमा हुन्डाई मोटर कम्पनी र किया कर्प रहेका छन्। उक्त लगानीपछि यी दुई कम्पनीबाट २०३० देखि वार्षिक १४ लाख ४० हजार कार उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ। 

हुन्डाई ग्रुपले २०३० सम्म विश्वभर ३२ लाख ३० हजार विद्युतीय कार उत्पादन क्षमता पुर्‍याउने जनाएको छ। कोरियामै हुने उक्त उत्पादन विश्व बजार हिस्साको करिब ४५ प्रतिशत हुनेछ। हुन्डाईले गतसाता अमेरिकाको जर्जियामा विद्युतीय कार उत्पादन प्लान्ट स्थापना गर्ने बताएको रोयर्टसले लेखेको थियो। 

अमेरिकामा विद्युतीय कार उत्पादन गर्न हुन्डाईले ७ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्ने बताएको हो।

हुन्डाई ग्रुप अन्तर्गतकै कियाले भारतमा समेत विद्युतीय कार उत्पादन गर्ने बताइसकेको छ। हुन्डाई तथा कियाका विद्युतीय कार नेपाली बजारमा समेत लोकप्रिय रहेका छन्। 

कियाले सुरुमा सोल इभी नेपाली बजारमा ल्याएको थियो भने त्यसको केही समयपछि निरो इभी ल्याएको थियो। त्यस्तै हुन्डाईले कोना इभी ल्याएको थियो। त्यसको केही समयपछि आयोनिक नेपाल ल्याएको थियो। 

त्यसैगरि हुन्डाई हाल कोना इभीको फेसलिफ्ट बिक्री गरिरहेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको आकर्षक नयाँ विद्युतीय कार आयोनिक फाई समेत नेपाल ल्याइसकेको छ। यो कार प्रति नेपाली उपभोक्ता आकर्षित छन्।


प्रकाशित : बुधबार, जेठ ४ २०७९०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend