आइतबार, असोज ६ गते २०८१    
images
images

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै

images
आइतबार, जेठ १ २०७९
images
images
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै

भारतले यो विमानस्थलका लागि विभिन्न अवरोध खडा गर्दै आएको छ। विमानस्थलका लागि आवश्यक रुट दिन अझै अस्वीकार गरेको छ। मोदीका लागि आवश्यक गाडी लगायतका सामग्री ल्याएको सैनिक जहाज भने यही विमानस्थलमा अवतरण गरेको थियो। 

images
images

काठमाडौं- बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आज आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदै छन्। आठ वर्षअघि भारतको प्रधानमन्त्री भएपछि हुन लागेको उनको यो पाँचौँ भ्रमण हो।  

images
images
images

धार्मिक एवं आध्यात्मिक प्रकृतिको भ्रमण भए पनि दुवै देशका प्रधानमन्त्रीबीच हुने वार्तालाई दुवै मुलुकका जनताले चासोका साथ नियालेका छन्। प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटनसँगै द्विदेशीय सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ। गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसक्रममा भएका सहमतिको कार्यान्वयन तथा भावी योजनाबारे उनीहरूबीच विचारविमर्श हुने अपेक्षा गरिएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच पवन प्यालेस होटेलमा भेटवार्ता हुनेछ। त्यहाँ मोदी इन्टरनेसनल बुद्धिष्ट फोरमको बैठकमा सहभागी हुनेछन्। मोदीले एक बिघा जमिनमा एक अर्ब ६० करोड रुपैयाँमा निर्माण हुने बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रम छ। मोदी र देउवाले मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित पूजाआजा गर्नेछन्। मोदीका तर्फबाट रोपिएको बोधीवृक्षमा पानी हाल्ने कार्यक्रम पनि छ। उनले मायादेवी मन्दिर छेउको रूखमुनि ध्यान गर्नेछन्। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा करिब दुई हजार सहभागीलाई मोदी र देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

मोदीको लुम्बिनी भ्रमणबाट विश्वभर प्रवर्द्धन हुने विश्वास कतिपयको छ। लुम्बिनीको ब्रान्डिङमा सहयोग पुग्ने व्यवसायीहरुले विश्वास लिएका छन्। 

images

लुम्बिनीलाई नै केन्द्रित गरेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि नै सञ्चालनमा आउँदैछ। मोदी भने यही विमानस्थल उपयोग नगरी नेपाल अवतरण गर्नेछन्। 

मोदी हेलिकप्टरबाट लुम्बिनी आउने भएका हुन्। भारतले यो विमानस्थलका लागि विभिन्न अवरोध खडा गर्दै आएको छ। विमानस्थलका लागि आवश्यक रुट दिन अझै अस्वीकार गरेको छ। मोदीका लागि आवश्यक गाडी लगायतका सामग्री ल्याएको सैनिक जहाज भने यही विमानस्थलमा अवतरण गरेको थियो। मोदीले भने यही विमानस्थल उपयोग गर्ने छैनन्। 

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका निम्ति भारतसँग अनुरोध गर्ने प्रधानमन्त्री देउवाको सार्वजनिक अभिव्यक्तिले नेपाल र भारतका जनता उत्साहित भएका छन्। ऊर्जा संकटले पिरोलिएका भारतका मित्रहरू नेपालमा उत्पादित बिजुली पाउने आशमा उत्साहित भएका हुन् भने अपार जलस्रोतको सम्यक सदुपयोग नहुँदा विकासको बाटोमा गतिहीन हुनुनपर्ने परिस्थितिको परिकल्पनामा नेपालीमा ऊर्जा थपिएको हो। यद्यपि उक्त आयोजना निर्माण गर्न लामो समय र विशाल पूँजी लाग्नेछ तर राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति भएमा यस्ता परियोजना बनाउन सकिन्छ। आपसी समझदारी भएमा प्रारम्भिक चरणका प्रक्रियागत कामको थालनी शीघ्र गर्न सकिनेछ। 

प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रमले गौतमबुद्धको जन्मस्थलको प्रचारप्रसारमा सहयोग हुने र अन्ततोगत्वा नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास गरिएको छ। 

सरकार प्रमुखको दायित्व र कार्यव्यस्तताका कारण उनी काठमाडौँसम्म आउन नसके पनि लुम्बिनीबाट प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय थप्न खोजेको सन्देश दिएका छन्। शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबारेको भ्रामक सूचना सधैँसधैँका लागि चिर्न र दुई छिमेकीबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वसमुदायमा पुर्‍याउन उनको यो भ्रमण उपलब्धिमूलक हुनेमा विमति नहोला। 

भारतको प्राथमिकतामा रहेको नेपाल एक मात्र छिमेकी भएकाले पाँचौँपटक नेपाल भ्रमणमा आउने उनको यो यात्रा धार्मिक एवं सांस्कृतिक भए पनि भारतले नेपालसँगको सम्बन्धलाई महत्व दिएको दर्शाउँछ। प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको सार्वजनिक अभिव्यक्ति भारत सरकारबाट आउनु नेपालका निम्ति सुखद हो। 

यसअघि जनकपुरस्थित जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिर र काठमाडौँ आएका बेला पशुपतिनाथ मन्दिरलगायत प्रमुख हिन्दू तीर्थस्थलहरूको भ्रमण र प्रार्थनामा उनले बिताउनु भएका क्षणले नेपालका धार्मिक स्थलहरूको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुगेको छ। 

कूटनीतिमा ‘सफ्ट पावर’ को अहम् भूमिका हुन्छ जुन प्रधानमन्त्री मोदीका सांस्कृतिक एवं धार्मिक यात्रामा प्रतिविम्बित भएका अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरू बताउँछन्। आर्थिक सहयोग एवं पूर्वाधार विकास, व्यापार-वाणिज्य, पारवहन, ऊर्जा र जलस्रोतलगायत पारस्परिक सम्बन्धका समग्र पक्षमा छलफल गर्न र आत्मीय सम्बन्धलाई नवीकृत भ्रमणको उपयोग हुनुपर्ने उनीहरूको अभिमत छ।  

विश्वको उदीयमान अर्थतन्त्र र विकासको बाटोमा द्रुत गतिमा अघि बढिरहेको भारतबाट मुलुकले अपेक्षित लाभ हासिल गर्न नसकेको कटु यथार्थ हामीले बिर्सनु हुँदैन। र, झिनामसिना विषयलाई लिएर दुवै पक्षले दुई राष्ट्रबीचको अनुपम सम्बन्धमा आघात पार्ने गतिविधि कहिँकतैबाट पनि हुन नहुने उनीहरू बताउँछन्। कार्यकारी सरकार प्रमुखको सर्वोच्च तहमा हुन लागेको यो भ्रमणबाट नेपाल र भारतबीचको धार्मिक, आध्यात्मिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एवं कूटनीतिक सम्बन्ध अझ प्रगाढ भइ पारस्परिक हित प्रवर्द्धन र सघन सहयोगात्मक बनाउन अधिक उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ। 

दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिँदै सुरक्षासम्बन्धी मामिलामा आश्वस्त हुन तथा एकआपसका चाहना र आवश्यकताबारे जानकारी लिन यो भ्रमणबाट मद्दत पुग्ने मात्र नभई सम्बन्धको नवीकरण एवं आत्मीयता प्रकट गर्ने उपयुक्त अवसर हुनेछ।

नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्यम आययुक्त विकासशील मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपालको विकासका विषयलाई टेवा दिनेगरी भारतीय सहयोग जुटाउने प्रधानमन्त्रीतहमा हुने वार्तालाई अवसरका रूपमा नेपालले उपयोग गर्ने मौका पाउनेछ।

द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि, व्यापार असन्तुलन घटाउने, एकअर्कालाई नजिकबाट बुझ्ने, सुखदुःख सुन्नेसुनाउने तथा साझा रणनीति तयार गर्दै विकासका चुनौती हटाउन भारतको साथ र सहयोगका निम्ति अनुरोध गर्न नेपालका निम्ति यो भ्रमण उपयुक्त हुनेछ। 


प्रकाशित : आइतबार, जेठ १ २०७९२३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend