शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

निरन्तर सुधारभित्र गुणात्मक सुधार चाहन्छु : अर्थमन्त्री शर्मा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २२ २०७८
निरन्तर सुधारभित्र गुणात्मक सुधार चाहन्छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन्। 

काठमाडाै‌- अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन्। 

शुक्रबार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जनअधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए। 'राजश्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो। यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ' उनले भने। 

मन्त्री शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भए पनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताए, 'निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ।'

'निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ। यथास्थितिवादी नीतिले परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्दैन' मन्त्री शर्माले भने, 'मैले गुणात्मक सुधारको लागि काम गर्ने हो। यो काम हचुवाको भरमा गर्ने होइन। गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो।'

अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लागेका राजश्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए। 

बिदाइ समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले सेवानिवृत्त हुन लागेका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग बिदाइ हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे। उनले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्वपूर्ण रहेको बताए।

बिदाइ मन्तव्यको क्रममा राजश्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजश्व संकलनमा समेत सुधार आउने तर्क गरे। राजनीतिक र प्रशासनिक क्षेत्र एक अर्काको परिपुरक रहेको भन्दै उहाँले प्रशासनिक क्षेत्रको जनशक्तिले आफूलाई लोकसेवाबाट आएको भनेर घमण्ड प्रस्तुत गर्न नहुनेमा जोड दिए। सचिव पुडासैनीले भने 'हामी राज्यबाट केही लिन आएको हैन, राज्यलाई केही दिन आएको हो।'

जनता र राष्ट्रको सेवा गर्नु हाम्रो धर्म हो। घमण्ड गर्नु हुँदैन। तीन दशकभन्दा लामो समय निजामति सेवामा बिताउँदाको अनुभव सुनाउँदै उनले नेपालमा राजनैतिक क्षेत्रले व्यूरोक्रेट्सलाई अझै पूर्ण रुपमा विश्वास गरिनसकेको बताए। वि.सं. २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत  पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ।

निजामति सेवामा ३३ वर्ष बिताएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते आइतबारदेखि सेवानिवृत्त हुँदै छन्। कार्यक्रममा आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति अर्थ मन्त्रालयका अध्यक्ष वामदेव पन्थीलगायत विभिन्न विभाग तथा समितिको तर्फबाट सचिव पुडासैनीलाई मायाको चिनो र दोसल्लासहित बिदाइ गरिएको थियो।   


प्रकाशित : शुक्रबार, साउन २२ २०७८१२:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend