आइतबार, असोज ६ गते २०८१    
images
images

चार मेट्रिक टन फोहर व्यवस्थापन

images
आइतबार, जेठ १ २०७९
images
images
चार मेट्रिक टन फोहर व्यवस्थापन

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा’  भन्ने नाराका साथ बागमती पुलदेखि ५०० मिटर दक्षिण बागमती नदी किनारमा सफाइ गरिएको हो।

images
images

काठमाडाैं- बागमती सफाइ महाभियानको शनिबार ४७०औँ हप्तामा सिनामंगलस्थित बागमती नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
   
‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा’  भन्ने नाराका साथ बागमती पुलदेखि ५०० मिटर दक्षिण बागमती नदी किनारमा सफाइ गरिएको हो। सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद  तिमिल्सिना, सिभिल क्यापिटल मर्चेन्ट प्रालिबाट ११ जनाको समूह, बागमती फोहर उन्मुलन उपभोक्ता समिति, स्थानीयवासी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु एवं बागमती अभियानकर्मीलगायतको सहभागिता थियो। 

images
images
images

सो अवसरमा बागमती किनारका बासिन्दाको घरमा घरदैलो कार्यक्रम गरी जागरण गरिएको छ। नदीको किनारमा राखिएका बारको समेत व्यवस्थापन गरिएको छ। आगामी शनिबार सिनामंगलस्थित बागमती पुलदेखि ५०० मिटर दक्षिण बागमती किनारमा सफाइको कार्यक्रम तय गरिएको छ। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ।

जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाभियान रोकिएको छैन। महाभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा बागमती सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ। हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ।
 
यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ। यसैगरी गुह्येश्वरीमाथिको बागमतीलगायत बागमतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ। ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ।
 
अभियानकर्मीको सक्रियतामा देशव्यापीरुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन। फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन्। देशको राजधानी काठमाडौं उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन। सांस्कृतिक सहरका रुपमा समेत विश्वमा परिचित काठमाडौंमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ।

स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइनजस्तो गरी पन्छने गरेका छन्। केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आमसमुदायमा आह्वान गरेका छन्। विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन्।
  
स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम जारी रहँदा राजधानी काठमाडौंमा फोहर व्यवस्थापनको विषयमा बहस चलेको छ। यसअघि सबै दलले जारी गरेको घोषणापत्रमा फोहर व्यवस्थापनलाई मुख्य बुँदाका रुपमा उठाएका छन्। रासस

images


प्रकाशित : आइतबार, जेठ १ २०७९०५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend