शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विद्युत प्राधिकरणले पोलको भाडा नघटाए केवल टीभीको शुल्क बढ्ने व्यवसायीको चेतावनी 

बुधबार, असोज ६ २०७८
विद्युत प्राधिकरणले पोलको भाडा नघटाए केवल टीभीको शुल्क बढ्ने व्यवसायीको चेतावनी 

यसअघि इन्टरनेट सेवाप्रदायकहरूले पोलको भाडाअनुसार शुल्क बढाउने निर्णय गरिसकेका छन्। उनीहरूले भाडा बढाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष निवेदन दिइसकेका छन्। 

काठमाडौं- केवल टेलिभिजन व्यवसायीहरूले नेपाल विद्युत प्राधिकरणले बढाएको पोल भाडामा पुनर्विचार नगरे उपभोक्ता शुल्क बढ्ने चेतावनी दिएका छन्। 

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तथा केवल टेलिभिजन सेवाप्रदायकलाई पोलको नयाँ भाडादर निर्धारण गरेको थियो। सोहीअनुसार असोज १५ गतेभित्र आएर भाडा तिरी सम्झौता नवीकरण गर्न प्राधिकरणले अल्टिमेटम दिएको छ। 

यसै पनि क्लिनफीड लागू भएपछि महँगो भएको सेवा प्राधिकरणले थप महँगो बनाइदिएपछि उपभोक्ताको भारमा शुल्क थपिने नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले बताएको छ। 

प्राधिकरणले भाडादर गणनामै नयाँ मापदण्ड लगाएको थियो। पहिले प्रतिपोल २५० रुपैयाँ लिँदै आएको प्राधिकरणले हाल प्रतिकिलोमिटरका दरले भाडा लगाएको छ। यसअनुसार पहिलेको पोलको तुलनामा हिसाब गर्दा प्रतिपोल ५ सय रुपैयाँ भाडा बढेको व्यवसायीहरूले बताएका छन्। 

यसअघि इन्टरनेट सेवाप्रदायकहरूले पोलको भाडाअनुसार शुल्क बढाउने निर्णय गरिसकेका छन्। उनीहरूले भाडा बढाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष निवेदन दिइसकेका छन्। 

नेपाल दूरसञ्चार प्राधिकरणले भने पोलको भाडाका विषयमा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेर इन्टरनेटको शुल्क बढाउने वातावरण आउन नदिने बताएको छ। उसले प्राधिकरण र सेवाप्रदायकलाई एकैठाउँमा राखेर सम्झौता गराउन खोजेको छ। 

केवल टेलिभिजन व्यवसायी महासङ्घले भने थप शुल्क वृद्धि गर्ने पक्षमा नरहेकोले नेपाल विद्युत प्राधिकरणको बढाएको पोल भाडा घटाउन सरकारसमक्ष माग गरेको छ। शुल्क बढाए उपभोक्ता घट्ने भाडा नघटाए व्यवसाय बन्द हुने अवस्था आएको भन्दै महासंघले यस विषयमा गम्भिर हुन सरकारसमक्ष माग गरेको छ। 


प्रकाशित : बुधबार, असोज ६ २०७८०७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend