शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

इच्छाराज तामाङको सीटीसी मल लिलामीमा

सोमबार, वैशाख २६ २०७९
इच्छाराज तामाङको सीटीसी मल लिलामीमा

सिभिल सहकारीका निक्षेपकर्ताको करिब सात अर्ब रुपैयाँ ठगीको आरोपमा तामाङ थुनामा छन्।

काठमाडौं- कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङको कम्पनी सिभिल इस्टेट्स प्रालिको नाममा रहेको सीटीसी मल लिलामीको प्रक्रिया अगाडि बढाएको छ। कोषले एक सूचना जारी गर्दै एकसय ३२ वटा पसल कबल लिलाम बिक्रीमा राखेको हो। 

तामाङको उक्त कम्पनी उद्योग विभागमा २०६४ असोज ९ मा दर्ता भएको थियो। काठमाडौं महानगरपालिका वडा नं ११ सुन्धाराको कित्ता नम्बर २४२४ को ६ रोपनी क्षेत्रफलमा सीटीसी मल निर्माण भएको हो। 

८२ हजार ०९५ वर्गफिटबराबरको एक सय ३२ वटा पसल कबल कोषले लिलामीमा राख्ने गरी सोमबार सूचना निकालेको हो। कम्पनीले म्यादभित्र कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लंघन गरेको भन्दै सम्पत्ति लिलाम बिक्रीका लागि आह्वान गरेको कोषले जनाएको छ। 

तामाङले कोषलाई बुझाउनुपर्ने रकम लिलाम बिक्रीको सूचना बमोजिम म्याद भित्र बुझाएमा भने लिलाम प्रक्रिया अन्त्य हुनेछ सूचनामा उल्लेख छ। सोमबारबाट ३० दिनभित्र ऋण चुक्ता गरेमा भने लिलाम हुने छैन।

बोलपत्रदाताले आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटीबापतको रकम नेपाल इन्भेस्टमेन्ट बैंक पुल्चोकमा रहेको कोषको चल्ती खातामा जम्मा गर्न आग्रह गरिएको छ। कोषको सञ्चालकमा तामाङसहित केशवलाल श्रेष्ठ र प्रवीण मुखिया हुन्। कोषको ऋण लिँदा व्यक्तिगत जमानीका रुपमा लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रवीणप्रसाद प्रधान र सुमननन्दन वैद्य छन्। 

सिभिल सहकारीका निक्षेपकर्ताको करिब सात अर्ब रुपैयाँ ठगीको आरोपमा तामाङ थुनामा छन्।


प्रकाशित : सोमबार, वैशाख २६ २०७९०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend