शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

मासु पसललाई 'गुणस्तरमा ध्यान दिन' आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
मासु पसललाई 'गुणस्तरमा ध्यान दिन' आग्रह
फाइल तस्बिर

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ।

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ। मंगलबार काठमाडौं उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको हो।

छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्दै आग्रह गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए। उनका अनुसार विभागले गरेको आग्रहमा मासु व्यवसायी सहमत भएर फूलपातीको दिनबाट खसीको मासुको मूल्य तोक्ने जनाएका थिए।

यस्तै, कुखुराका मासु व्यवसायीले दसैँमा तीन सय रुपैयाँभन्दा बढी मूल्य नबढाउने जनाएका थिए। राष्ट्रिय मासु व्यवसायी सङ्घका अध्यक्ष रमेश खड्कीले विभागमा भएको छलफलका आधारमा मासुको मूल्य तोक्ने तयारी भएको जानकारी दिए।

विभागले पहिलो पटक यसवर्षको चाडपर्वलाई ध्यानमा राख्दै उपत्यकामा सञ्चालित मासु पसलसँगै मार्टलाई दसैँका लागि सहुलियत रुपमा खाद्यान्न सामग्रीको बिक्री वितरण गर्न आग्रह गरेको छ। विभागले नेपाल उद्योेग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घलाई आफ्ना सदस्य व्यवसायीलाई चाडपर्वमा सहुलियत रुपमा सामग्रीको बिक्री वितरण गर्न अनुरोध गरेको जनाएको छ।  

यसअघि नै विभागले तीन ठूला मार्टलाई आफ्ना बिक्री केन्द्रबाट चाडपर्वमा सहुलियत दरमा खाद्य पदार्थकोे बिक्री वितरण गर्न अनुरोध गरेको छ। विभागमा सोमबार भएको छलफलमा भाटभटेनी, सेल्सबेरी, बिगमार्टलगायतका मार्टलाई सहुलियत रुपमा खाद्य पदार्थको बिक्री वितरण गर्न आग्रह गरेको हो।

'सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै अन्य समयको तुलनामा चाडपर्वमा केही सहुलियत दिन हामीले आग्रह गरेका थियौ, छलफलमा सहभागी मार्टका सञ्चालकले व्यानरसहित छुट दिन सहमत हुनुभयो', प्रवक्ता सेढाइँले भने।

उपत्यकामा बिगमार्टको ५७, सेल्सबेरीको २६ र भाटभटेनीको देशभर १९ वटा बिक्री काउन्टर सञ्चालनमा छन् । विभागले चार्डपर्वमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै तीव्र रुपमा बजार अनुगमनसँगै सरोकारबाला निकायसँग छलफल गर्दै आएको छ। रासस


प्रकाशित : बुधबार, असोज ६ २०७८०७:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend