बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करोडौँ ठगी

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २४ २०७९
images
images
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करोडौँ ठगी

विभागबाट स्वीकृति नलिइ कुनै पनि संस्थाले वैदेशिक रोजगारीसम्बन्धी काम गर्न पाउँदैनन्। विनास्वीकृति काम गरे वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम लिएको रकमसहित ५० प्रतिशत हर्जना तिर्नुपर्ने व्यवस्था छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीले ठगी गरिरहेको भेटिएको छ। आकर्षक रोजगारीको प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम असुल गरेको भेटिएपछि वैदेशिक रोजगार विभागले त्यस्ता कन्सलटेन्सीविरुद्ध मुद्दा दायर गर्न थालेको छ।

images
images
images

विभागले पछिल्ला दुई दिनमा ७ करोड १६ लाख ८ हजार ८ सय बिगो माग दाबी गर्दै ठगीमा संलग्न विभिन्न कन्सलटेन्सी सञ्चालकविरुद्ध वैदेशिक रोजगार न्याधीकरणमा मुद्दा दायर गरेको हो। उनीहरुले वैदेशिक रोजगारीका लागि क्यानडा, पोर्चुगल, स्पेन, फ्रान्सहित युरोपका मुलुक तथा माल्टामा पठाउने भन्दै ठगी गरेका विभागले जनाएको छ। 

images
images

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ बस्ने ३१ वर्षीय सदीक्षा गुरुङ र खिनशोभा गुरुङले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै कुमार गुरुङसँग ४१ लाख ४२ हजार ५०० ठगी गरेका थिए। विभागले गत चैत २४ गते सदीक्षालाई पक्राउ गरेको थियो। सदीक्षा र खिनशोभा आमाछोरी रहेको अनुसन्धानबाट खुलेको छ। विभागले उनीहरुविरुद्ध ठगी गरेको बिगो ४१ लाख ४२ हजार ५०० र हर्जनास्वरुप २० लाख ९१ हजार २५० गरी ६२ लाख ७३ हजार ७५० असुलउपर गर्न र  सात वर्ष कैदको मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

images
images
images

यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको इन्टरनेशनल एक्स्पो एण्ड ट्राभल सर्भिस प्रालिका सञ्चालक राधा सुवेदीलगायत आठ जनाविरुद्ध ठगी गरेको एक करोड ६४ लाख आठ हजार, सोको हर्जना ८२ लाख चार हजारसहित जम्मा दुई करोड ४६ लाख १२ हजार मागदाबी गर्दै न्यायाधीकरणमा मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए। उनीहरुले माल्टालगायत युरोपका मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भन्दै १२२ जनासँग प्रतिव्यक्ति दुई लाख ३५ हजार ठगी गरेका थिए। 

युरोपका विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भन्दै सर्वसाधारणबाट प्रतिव्यक्ति १७ लाख ९२ हजारका दरले ठगी गरेको अभियोगमा विभागले जिनियस इजुकेशन एण्ड कन्सलटेन्सी सर्भिस प्रालिका सञ्चालक सुजन भट्टराईलगायतविरुद्ध पनि मुद्दा दायर गरेको छ। निजले ठगी गरेको भन्दै विभागमा उजुरी परेपछि अनुसन्धानका क्रममा गत चैत २८ गते भट्टराईलाई विभागले पक्राउ गरेको थियो। 

विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिने उद्देश्य राखी दर्ता भएको उक्त कन्सलटेन्सीले अशोक चौधरीसमेत २२ जनाबाट दुई करोड ८८ लाख ४१ हजार ७०० ठगी गरेको विभागले पुष्टि गरेको छ। विभागले सञ्चालक भट्टराईसहित मेखबहादुर गुरुङ र सुनिल लम्सालविरुद्ध चार करोड सात लाख २३ हजार ५० मागदाबी गर्दै मुद्दा दायर गरेको हो। 

विभागबाट स्वीकृति नलिइ कुनै पनि संस्थाले वैदेशिक रोजगारीसम्बन्धी काम गर्न पाउँदैनन्। विनास्वीकृति काम गरे वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम लिएको रकमसहित ५० प्रतिशत हर्जना तिर्नुपर्ने व्यवस्था छ। यस्तै तीनदेखि पाँच लाखसम्म जरिवाना र तीनदेखि सात वर्षसम्मको कैद सजाय पनि ब्यहोर्नुपर्ने  छ। पछिल्ला समय कन्सलटेन्सीले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको भनी उजुरी दिनेको सङ्ख्या दिनहुँ बढिरहेको विभागले जनाएको छ। कन्सलटेन्सीमार्फत वैदेशिक रोजगारीका धन्दा चलाउनेले अनुसन्धानमा बाधा पुग्ने गरी कारोबार गर्ने गरेका अनुसन्धानबाट खुलेका छन्। 

कन्सलटेन्सीले रकमको कारोबार नगदमा गर्ने, संस्थामा कार्यरत कर्मचारीको बैंक खातामा जम्मा गर्न लगाउने, गैरकानूनी असुलीको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न सञ्चालक फरार हुने वा विदेशमा बस्ने गरेको पाइएको छ। सञ्चालक फरार रहँदा रकम बुझ्ने कर्मचारी पक्राउपर्ने गरेका छन्। विभागले गैरकानूनी कारोबारमा संलग्न नहुन कन्सलटेन्सीका कर्मचारीलाई समेत सचेत गराएको छ। रासस


प्रकाशित : शनिबार, वैशाख २४ २०७९०८:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend