शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

उद्योगमा लोडसेडिङ : राजनीतिकरण नगर्न ऊर्जामन्त्रीको आग्रह, नियमित आपूर्ति हुने आश्वासन 

मंगलबार, वैशाख २० २०७९
उद्योगमा लोडसेडिङ : राजनीतिकरण नगर्न ऊर्जामन्त्रीको आग्रह, नियमित आपूर्ति हुने आश्वासन 

मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै आजदेखि नै आपूर्ति सहज हुने आश्वासन दिएकी थिइन्। 

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छन्। 

सोमबार  मन्त्रालयमा भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबडी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग उनले  छलफल गरेकी थिइन्। 

मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै आजदेखि नै आपूर्ति सहज हुने आश्वासन दिएकी थिइन्। 

'विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ' उनको भनाइ उदृत गर्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको छ। 

विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्नसमेत आग्रह गरिन्। 

'ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन्' उने भनिन्। 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विद्युत आपूर्ति सहज तुल्याउन सरकार र निजी क्षेत्रसँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए। आगामी दिनमा विद्युतको गुणस्तरीयता सुधार हुने विश्वास व्यक्त गरेका थिए। 


प्रकाशित : मंगलबार, वैशाख २० २०७९०५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend