शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

निर्वाचनका बेला मनाङवासीलाई यार्सागुम्बा संकलनको चटारो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १९ २०७९
निर्वाचनका बेला मनाङवासीलाई यार्सागुम्बा संकलनको चटारो

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ।  

मनाङ- मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा संकलन गर्न चटारो छ। जेठ दोस्रो सातादेखि संकलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त छन्।  

जडीबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न अनुमति दिएको हो। एक्यापले समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ। यार्सागुम्बा संकलनसँगै मनाङवासीलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था छ।

जडीबुटी मनाङवासीको मुख्य आयस्रोत मानिन्छ। उनीहरुलाई आयस्रोत जुटाउने र निर्वाचनमार्फत प्रतिनिधि चयन गर्नुपर्ने दोहोरो चटारो छ। यार्सागुम्बा संकलन गर्न मनाङवासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गरेका छन्।

जडीबुटी संकलनको समय भएकाले यहाँको सुरक्षाका लागि चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए। 'यार्सागुम्बा संकलन क्षेत्रमा सुरक्षाकर्मी पुग्नुपर्ने हुन्छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउन जुटेका छौंँ,' उनले भने। 

नाम्केखर्क, नारफु, माथिल्लो मनाङको खाङ्सार खर्कदलगायत क्षेत्रमा यार्सागुम्बा संकलन गरिँदै आएको एक्याप इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। असार अन्तिम हप्तासम्म यार्सागुम्बा संकलन गरिन्छ। मनाङवासीलाई नागरिकता वा बसाइँसराइको प्रमाणपत्रका आधारामा यार्सागुम्बा संकलनको पूर्जी दिइन्छ। 

यार्सागुम्बा संकलनको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिइने गौतमले बताए। मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ।  

दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री हुन नसक्दा जिल्लाको राजस्व घटेको थियो। यसवर्ष जडीबुटी संकलन भइरहेकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ।  रासस


प्रकाशित : सोमबार, वैशाख १९ २०७९०७:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend