शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

मतदाता भन्छन् : भोट दिन्छौँ, विकास दिनुहोस्

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १९ २०७९
मतदाता भन्छन् : भोट दिन्छौँ, विकास दिनुहोस्

विशेष गरेर मुख्य पदका उम्मेदवार गाउँमा पुग्दा भोट मात्र माग्दैनन्। मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन्।

झापा- जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन्। सहरदेखि गाउँसम्म आ-आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ। 

सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र अन्य राजनीतिक दलहरु आ-आफ्नै चुनावी एजेण्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन्। शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदातासमेत उत्साही बन्नेको दृश्य रोमाञ्चक देखिन्छ।

विशेष गरेर मुख्य पदका उम्मेदवार गाउँमा पुग्दा भोट मात्र माग्दैनन्। मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन्। मेचीनगर नगरपालिका-१५ स्थित भण्डाबारी टोलकी ७५ वर्षीया डुकु मुर्मुले विगतमा जस्तो चुनावी चहलपहल यसपालि नभएको बताउँछन्। 'पहिला-पहिला त घरघरमा झण्डा राखिदिने, चुनाव प्रचारमा हिंडेवापत दैनिक ज्याला दिनेसम्म गर्थे', उनी भन्छन्, 'यसपालि चाहिँ त्यसो गर्ने कोही आएनन्।'

पहिलोपटक चुनावमा भाग लिन लाग्नुभएका मेचीनगर-१४ का १९ वर्षीय दीपेन्द्रकुमार न्यौपानेले भने उत्साही छन्। उनी भन्छन्, 'बुबा, आमा, दाजु दिदीले भनेको पार्टी र व्यक्तिलाई भोट दिन्न। जनताको लोकप्रिय, युवाको समस्या पहिचान र समाधान गर्नेलाई दिन्छु।' उनले दैनिकजसो घरमा विभिन्न पार्टीका उम्मेदवार लर्को लागेर भोट माग्न आउने गरेको बताए।

राजनीतिक दलहरुले बिहान ६ बजेदेखि नै चुनावी अभियान सुरु गर्ने र आफ्ना उम्मेदवारलाई लिएर बाजागाजासहित हिँड्ने गरेका छन् । यसरी हिँड्दा कतिपय स्थानमा अन्तरदलीय उम्मेदवारबीच भेट हुँदासमेत एक अर्कामा अँगालो मारेर आत्मीयता साटेको देखिन्छ। मेचीनगर-१५ का ८३ वर्षीय कालिन्द्र राजवंशीले विगतमा भन्दा यसपालिको चुनाव पृथक लागेको बताए। उनी भन्छन्, 'गाउँघरमा चुनाव आएपछि वल्लोपल्लो घरबीच बोलचाल बन्द हुन्थ्यो। कसले ठूलो झण्डा राख्ने भन्ने होडबाजी नै चल्थ्यो। यसपालि शान्त छ।'

यसपालिको चुनावमा त्यस्तो केही नभएको र जुनसुकै पार्टी भए पनि हाम्रोलाई नभएर राम्रोलाई भोट दिऊँ भन्दै सरसल्लाह हुने गरेको उनको भनाइ छ। उनले आफूले भोट दिएर जिताएका जनप्रतिनिधि फेरि फर्केर गाउँ आएर बाटो, पानी, ढल, शिक्षा, स्वास्थ्यको बारेमा चासो राखेर काम गरुन् भन्ने अपेक्षा व्यक्त गरे। उनले भने, 'हामीले मत दिन्छौँ, उनीहरुले विकास दिनुपर्‍यो।' रासस


प्रकाशित : सोमबार, वैशाख १९ २०७९०५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend