आइतबार, असोज ६ गते २०८१    
images
images

अनियमित विद्युत् आपूर्तिले रुपन्देहीका उद्योग समस्यामा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १८ २०७९
images
images
अनियमित विद्युत् आपूर्तिले रुपन्देहीका उद्योग समस्यामा

विद्युत् आपूर्ति बन्द हुँदा लुम्बिनी करिडोरका मात्रै १२ सिमेन्ट र अन्य ठूला उद्योगको उत्पादन ठप्प भएको छ। अघोषित लोडसेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन पनि बन्द छ।

images
images

रुपन्देही- अनियमित विद्युत् आपूर्तिका कारण यस क्षेत्रका व्यवसायी समस्यामा परेका छन्। उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उनीहरु चिन्तित भएका हुन्। सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी करिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भएको हो। 

images
images
images

करिब एक महिनदेखि विद्युत् आपूर्ति नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको छ। पछिल्लो समय लगातार १५ दिनदेखि विद्युत् आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गानाले जानकारी दिए। 'अहिले सिमेन्ट उत्पादनका लागि उपयुक्त समय हो, यो समयमा उत्पादन हुन नसके भारतीय सिमेन्टले बजार लिन्छ। हाम्रो बजार बिग्रिन्छ र यसले दीर्घकालसम्म समस्या हुन्छ', उनले भने।

उद्योगमा उत्पादन बन्द हुँदा कर्मचारीलाई दिनुपर्ने मासिक तलब र बैंकको ब्याज भुक्तानी गर्नसमेत नसक्ने अवस्था सिर्जना हुन लागेको उनको गुनासो छ। विद्युत् आपूर्ति बन्द हुँदा लुम्बिनी करिडोरका मात्रै १२ सिमेन्ट र अन्य ठूला उद्योगको उत्पादन ठप्प भएको छ। अघोषित लोडसेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन पनि बन्द छ। बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगमा विद्युत् आपूर्ति रोकिएपछि प्लान्ट सञ्चालन गर्न सकिएको छैन।

अनियमित विद्युत् आपूर्ति र लो भोल्टेजको समस्या पुरानै भएपछि अहिले अघोषितरूपमा २४ घण्टा विद्युत् कटौती गर्दा ठूला उद्योग सञ्चालनमा समस्या भएको उनको भनाइ छ। उद्योगीले विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकारणसँग पटक–पटक आग्रह गर्दै आए पनि समस्या समाधान हुनसकेको छैन।

images

प्राधिकरणले समयतालिका बनाएर उद्योग क्षेत्रको विद्युत् आपूर्ति नियमित गर्नुपर्ने माग उनीहरुको छ। 'प्राधिकरण नेतृत्वको असक्षमताका कारण पटक–पटक उद्योगीहरूले पीडा भोग्नुपरेको छ। हाल विद्युत् आपूर्तिमा देखिएको समस्या नियोजित हो', उद्योगी बाबुराम बोहोरा भन्छन्, 'समस्या सामाधानमा छिट्टै कदम नचालिए सङ्घ चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौँ।' 

विद्युत् नियमित नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी बताउँछन्। यस्तो अवस्था आउँदा पनि विद्युत् प्राधिकरण जिम्मेवार बन्न नसकेको गुनासो उनीहरूको छ। आपूर्तिको समस्या समाधान गर्न ढिलाइ गरिए आफूहरु उद्योगमा ताला लगाएर सडकमा आउने उद्योगीहरुको चेतावनी छ। रुपन्देही उद्योग सङ्घ, उद्योग वाणिज्य सङ्घ र सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर धेरै पटक ध्यानाकर्षण गराउने काम गरे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको उद्योगीहरूको गुनासो छ।

कोभिड महामारीका कारण थला परेका उद्योग विस्तारै उठ्न थाले पनि विद्युत्का कारण धरासायी हुने अवस्थामा छन्। रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले प्राधिकरणले बिनासूचना विद्युत् आपूर्ति बन्द गर्ने र नियमित विद्युत् नदिएका कारण उद्योगहरूले ठूलो क्षति व्यहोर्नुपरिरेहको बताए।  विद्युत् वितरणमा भइरहेको समस्यालाई तत्काल समाधान गर्न उनको आग्रह छ। 'कोरोनाले थलिएका उद्योग विस्तारै उठ्न थालेका छन्, यस्तो अवस्थामा अनियमित विद्युत् आपूर्तिले उद्योग धरासयी हुन्छन्', उनले भने।

विगत एक महिनादेखि विद्युत्को समस्या धेरै हुन थालेको उद्योगी बताउँछन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले अघोषित लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी दिए।  

उद्योगी व्यवसायीको साझा संस्थासमेत रहेको सङ्घमा जिल्लाका उद्योगीले अघोषित विद्युत् कटौतीलाई केही निश्चित समय तोकेर भए पनि विद्युत् आपूर्ति गर्न माग गरेका छन्। ३३ केभिए र ११ केभिए औद्योगिक करिडोरका उद्योगीमा २४ घण्टा नै विद्युत् कटौती हुन थालेपछि उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत् कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत सिद्धार्थ उद्योग वाणिज्य सङ्घले  ध्यानाकर्षण गराएको छ।

उत्पादनजस्तो गम्भीर विषयमा केन्द्रित भई राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगलाई गुणस्तरीय तथा निरन्तर विद्युत् आपूर्तिको तालिका मिलाएर भए पनि सञ्चालनको वातावरण मिलाउन सङ्घले आग्रह गरेको छ। विगत केही दिनको अनियमित विद्युत् आपूर्तिले उत्पादनमा रहेको कच्चा पदार्थ बिग्रिएर प्रयोग गर्न नमिल्ने हुनुका साथै बजारमा उत्पादनको अभाव सिर्जना हुने अवस्था आएको सङ्घले जनाएको छ। 

औद्योगिक करिडोरका उद्योगीले विद्युत नहुँदा डिजेलबाट उत्पादन गर्दा लागत बढ्ने भए पनि महालेखाले यसलाई बेरुजुमा देखाउने गरेकाले समस्या हुने उद्योगीहरू बताउँछन्। बरु लोडसेडिङ तालिका नै लागू गरेर भए पनि सीमित समयावधिमा उद्योग सञ्चालन गरे अभाव पनि सिर्जना नहुने उनीहरूको भनाइ छ। अघोषितरूपमा भएको लोडसेडिङले महिना दिनदेखि उद्योगको उत्पादन आपूर्ति बन्द हुनुका साथै यन्त्र उपकरण बिग्रने, कच्चा पदार्थ खेर जाने लगायतका समस्या देखिएका छन्।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजु ले औद्योगिक उत्पादनको लागत बढ्नुका साथै वैकल्पिक ऊर्जाको लागि पेट्रोलियम पदार्थको उपभोगसमेत बढ्न जाने भएकाले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न जाने सम्भावना बढेको जानकारी दिए। ऊर्जा अपर्याप्तताको हालको समयमा औद्योगिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्नु चुनौतीका रूपमा रहेको भएता पनि विद्युत् आपूर्तिका लागि वैकल्पिक व्यवस्था गर्ने, औद्योगिक क्षेत्रहरूमा समय तोकी विद्युत् आपूर्ति गर्ने उपाय अवलम्बन गर्नेबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ।

विद्युत् प्राधिकरणका अनुसार सरकारले भारतीय सरकारसँग लिएको विद्युत् रोकिएपछि यस क्षेत्रमा विद्युत् आपूर्ति अनियमित भएको छ। प्राधिकरणका प्रदेश प्रमुख निर्देशक ई नवराज ओझाले  विद्युत्को उत्पादन र आयातमा आएको समस्याका कारण वितरणमा समस्या देखिएकाले समाधानका लागि पहल भइरहेको जानकारी दिए। समयतालिका बनाएर विद्युत् वितरण गर्न वा उद्योगमा विद्युत् प्रवाह गर्न प्राविधिक टोलीसँग परामर्श गरी तत्काल उपाय खोज्ने उनको भनाइ छ। रुपन्देही उद्योग सङ्घका अनुसार जिल्लामा करिब १५ हजार उद्योग सञ्चालनमा छन्। नियमित विद्युत् आपूर्ति नहुँदा यी उद्योगमा उत्पादन कम भएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १८ २०७९१२:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend