शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

हेटौँडामा बर्डफ्लू भेटियो, ३ हजार ४ सय ५३ कुखुरा नष्ट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १६ २०७९
हेटौँडामा बर्डफ्लू भेटियो, ३ हजार ४ सय ५३ कुखुरा नष्ट

छिमेकमा रहेका अन्य पोल्ट्री फार्मको नमूना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ।

बागमती- बागमती प्रदेशको राजधानी हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको ३ हजार ४ सय ५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । 

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो।

कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा मरेपछि शङ्का लागेर वैशाख ९ गते कुखुराको नमूना पशु विभाग काठमाडौँ पठाइएको र सात दिनपछि बिहीबार बर्डफ्लू प्रमाणित भएको रिपोर्टको आधारमा कुखुरा नष्ट गरिएको केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले राससलाई जानकारी दिए।

उनका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरासँगै छिमेकमा रहेका अन्य पोल्ट्री फार्मको नमूना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ। रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय हेटौँडामा बिहीबार बैठक गरी बर्डफ्लू प्रमाणित भएको फार्मका कुखुरा नष्ट गर्न टोली पठाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए। 

पशुपक्षी तथा मत्स्य निर्देशनालय हेटौँडाका निर्देशक गोपालप्रसाद शाहले बर्डफ्लू नियन्त्रण नियमावलीअनुसार बर्डफ्लू भएको स्थानमा नियन्त्रण तथा नियमन गरिने र कानूनी प्रवधानअनुसार किसानलाई राहत उपलब्ध गराउने बताए। रासस 


प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend