आइतबार, असोज ६ गते २०८१    
images
images

मतगणनास्थलमा सीसी क्यामरा अनिवार्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १६ २०७९
images
images
मतगणनास्थलमा सीसी क्यामरा अनिवार्य

यसपटकको निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ।

images
images

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सीसी क्यामराको प्रबन्ध गर्न लगाएको छ।

images
images
images

मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सीसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो। सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनैकुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन? भन्ने प्रश्न उत्पन्न बताए।

गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनःमतदानसमेत भएको थियो। निर्वाचनका लागि कुल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ।

images

यसैगरी यसपटकको निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ। आयोगले रङ्गिन र श्यामवेत दुवै रंगमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको आयोगका प्रवक्ता एवं सहसचिव पौडेलले बताए।

मतदाताले हेर्न चाहेमा आयोगका वेबसाइटमा नामावलीको सूची मात्रै हेर्न सक्नेछन्। निर्वाचनका लागि कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन्। यसैबीच आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग आज भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ।

निर्वाचनका लागि पठाइएका सामग्री र मतपत्रको सुरक्षा, पालिका तहमा वितरण, आयोगका परिपत्रको कार्यान्वयन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँगको समन्वय आदिबारे सो बैठकमा छलफल भएको छ।

बैठकमा प्रदेश र जिल्लास्तरबाट उठाइएका विषयमा स्पष्ट पार्दै आयोगका प्रवक्ता पौडेलले निर्वाचनको मिति आउन दुई साता मात्रै बाँकी रहेको स्थितिमा जिम्मेवारीको संवेदनशीलतालाई बोध गरी सक्रिय र प्रोएक्टिभ हुन निर्देशन दिँदै जिल्लास्तरमा जनशक्ति नियुक्त गर्दा व्यावसायिकता र सक्षमतालाई प्राथमिकता दिन आग्रह गरे।

उनले निर्वाचनसम्बन्धी सूचना र तथ्यांक आयोगको प्रणालीमा प्रविष्टिका क्रममा कुनै समस्या भएका जिल्लास्तरबाट समाधान गर्नुपर्ने भएकाले चनाखो हुन आग्रह गर्दै प्राप्त सामग्री र बजेटलाई राम्रोसँग रुजु (अध्ययन) गरेर अपुग भएमा माग गर्न वा स्थानीयरुपमा व्यवस्थापन गर्न सकिने खालका भएमा त्यहीँ व्यवस्थापन गर्न सुझाव दिए।

उनले फोटोसहितको मतदाता नामावलीमा यसपटक लाहाछाप लगाएर निर्वाचन अधिकृतलाई पठाइएको, मतगणनास्थलमा अनिवार्यरुपमा सीसी क्यामराको व्यवस्था गर्न भनिएको स्मरण गराए।

आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदाता शिक्षासम्बन्धी कतिपय सामग्री कुरियरबाट पनि पठाइएकाले सोको उचित वितरण प्रबन्ध गर्न आग्रह गरे। उनले निर्वाचनका क्रममा बारम्बार सोधिने प्रश्न, मतदान गर्ने सही तरिका, आचारसंंहितासम्बन्धी ब्रोसर, साझेदार संस्थाबाट प्राप्त जानकारीमूलक पुस्तक, जनस्वास्थ्य मापदण्डको पालनासम्बन्धी पोष्टर आदि पठाइको जानकारी दिए।

आयोगका उपसचिव कमल ज्ञवालीले स्थानीयरुपमै हुनसक्ने व्यवस्थापकीय तयारी त्यहीँ गर्न वा सानातिना समस्याको आफैँ समाधान गर्न आग्रह गर्दै विद्यमान, ऐन, नियम, निर्देशिका, आयोगका निर्णय र परिपत्रको सूक्ष्म अध्ययन गरेर निर्वाचनलाई व्यवस्थापकीयरुपमा सफल तुल्याउन प्रदेश र जिल्लास्तरका अधिकारीको भूमिका हुने अपेक्षा व्यक्त गरे।

यही बैशाख ११ र १२ गते प्राप्त उम्मेदवारको मनोनयनपत्र दर्ता भएकामा आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र बैशाख १७ गते निर्वाचन चिन्ह वितरण गर्ने कार्यसूची छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९०८:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend