शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

भिर छिचोलेर सडक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १५ २०७९
भिर छिचोलेर सडक

विशेष क्षेत्रलाई लगानीमा प्राथमिकता दिने सरकारी नीति र वडाको निरन्तर प्रयासपछि भिर फोडेर २० किमीभन्दा धेरै सडक सञ्जाल बनेको छ।

बलेवा- भिरको बाटो हिँड्नुपर्दा विद्यालय पुग्न पनि सास्ती थियो। प्रशासनिक कामले वडा कार्यालय जानुभन्दा सदरमुकाम पुग्न सहज थियो। उक्त भिर काटेर अहिले टोलटोलमा सडक पुगेको छ।

बागलुङ नगरपालिका-११ को रायडाँडामा अहिले टोलटोलमै गाडी चढेर पुग्न सकिने भएको हो। जोखिम क्षेत्र भएकाले विशेष क्षेत्रमा सूचीकृत गरेर लगानी बढाउँदा रायडाँडाले विकासको गति लिएको हो।

विशेष क्षेत्रलाई लगानीमा प्राथमिकता दिने सरकारी नीति र वडाको निरन्तर प्रयासपछि भिर फोडेर २० किमीभन्दा धेरै सडक सञ्जाल बनेको छ। त्यसमध्ये ११ किमी लामो पूर्व-पश्चिम फैलिएको वडा गौरवको सडक बनेको हो। त्यसबाहेक चारवटा छोटा सडक बनेपछि सबै टोलमा जिप चढेर पुग्न सकिने भएको छ।

मुकामसम्म पुग्ने सडकको ट्रयाकमात्रै खुलेको रायडाँडामा अब भने सबै टोलमा गाडी चढेर जान सकिने भएको हो। बिरामी पर्दा समयमा उपचार गर्न नपाउने बाध्यता अहिले हटेको स्थानीयवासीले बताए। रामतोला, आफ्रे र सल्यानवासी चार घण्टा लगाएर सामान्य काममा वडा पुग्ने बाध्यता अहिले हटेको हो। गर्भवती, सुत्केरी र बुढापाका डोकोमा बोकिएर स्वास्थ्यचौकी आउने बाध्यता अहिले हटेको छ।

भौगोलिक जटिलताका कारण वडाका ६० प्रतिशत घरका मानिस सदरमुकाममा डेरा लिन्थे। गाडी चढेर दुई-तीन घण्टासम्म पैदलयात्रा गर्नुपथ्र्यो। तर अहिले गाउँ पुग्ने सडक स्तरीय भएको छ। सदरमुकामबाट झण्डै ३० किमी दूरीको आफ्रे र सल्यानसम्म गाडी चढेर पुग्न सकिने भएको हो।

मुख्य सडकमात्र नभई वडाका सबै टोलटोलमा बाटो पुगेको छ। जटिल भूगोल चिरेर गौरवको आयोजनाअन्र्तगत वडाभित्रै ११ किमी लामो छुट्टै सडक बनेको हो। यो सडकले तत्कालीन रायडाँडा गाविसको वडा नं १ देखि ९ सम्मका सबै बस्ती जोड्छ।

'यो सडकको ट्रयाक खुलेपछि हामीलाई बलेवा, जैमिनी नगरको कुश्मीसेरा र सदरमुकाम जता गएपछि बाटो खुल्यो', रामतोलाका धनबहादुर हरिजनले तेजकुमारी क्षेत्रीले बताए। सडक सञ्जाल सबै टोलमा पुगेपछि उपचारमा निस्कनेदेखि विद्यार्थी र शिक्षकले पनि सहज यात्रा गर्न पाएको बताए। किसानले फलाएका उत्पादन बजार पठाउन पनि सकेकामा खुसी भएका छन्। रासस


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९०६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend