आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मेलम्चीको पानी पुनः वितरण सुरु

आइतबार, वैशाख ११ २०७९
मेलम्चीको पानी पुनः वितरण सुरु

सो अध्ययनको प्रतिवेदन आएपछि सबै निकायसँगको समन्वयमा मर्मत गरिने उनले बताए।

काठमाडाैं- मेलम्चीको पानी काठमाडौं आइपुगेर आजैदेखि नियमित वितरण सुरु भएको छ। आज खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, वानेश्वर शाखाको कार्यालयमा भल्भ खोलेर पुनःवितरण सुरु गरेका हुन्। 

आज पाँच करोड लिटर पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ। पहिलो दिन महांकाल चौर र नयाँ वानेश्वर शाखाबाट पानी वितरण हुँदैछ। भोलिबाट थप पानी आउने र थप स्थानमा वितरण गरिने भएको छ। 

सो अवसरमा मन्त्री चौधरीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको प्रतिवद्धताका आधारमा पानी ल्याइएइको बताए। उनका अनुसार अझै पनि कतिपय संरचना सम्पन्न हुन बाँकी भएकामा तत्कालका लागि पानी पथान्तरण गरिएको उनले बताए। गतवर्ष बाढीपहिराका कारण मुहानको माथिल्लो तटीय क्षेत्रमा पुगेको क्षतिका बारेमा दातृ निकाय एसियाली विकास बैंकले विस्तृत अध्ययन गरिरहेको उनले बताए। 

सो अध्ययनको प्रतिवेदन आएपछि सबै निकायसँगको समन्वयमा मर्मत गरिने उनले बताए। उनले भने, 'वर्षायाममा मेलम्चीमा क्षति पुग्ने भए पनि पूर्वसूचना दिने प्रणाली सुरु गरिएको छ।' खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले अहिले अस्थायी प्रक्रियाबाट पानी काठमाडौं ल्याइएको बताए।  

उपत्यकामा रहेका १० ट्यांकीबाट खानेपानी वितरण गरिनेछ। वर्षामा सुरुङ बन्द गर्नुपर्ने अवस्था आउँदा बागमतीको पानी वितरण गरिने उहाँले जानकारी दिए। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले गतवर्ष नभएकामा यसवर्ष भक्तपुरमा पनि पानी वितरण गरिने बताए। एक दुई दिन बिराएर उपभोक्ताका घरघरमा पानी वितरण हुने उनको भनाइ छ। 

आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटाले निर्देशनालयले सुन्दरीजलबाट उपभोक्ताका घरघरमा पानी पुर्‍याउन आवश्यक संरचना निर्माण गरेको बताए। आवश्यक संरचना निर्माण सकिएको उनको भनाइ छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले गतवर्ष केही समय पानी वितरण गरिएको भए पनि बाढीका कारण वितरण ठप्प हुँदा नागरिक निराश भएको बताए। उनका अनुसार अहिले पुनः पानी आउँदा नागरिकमा आशा पलाएको छ। 

लिमिटेडका वानेश्वर शाखा प्रमुख नारायण कर्णले शाखाले तालिका प्रकाशित गरेर आम उपभोक्तालाई पानी वितरणबारे जानकारी गराइरहेको बताए। रासस


प्रकाशित : आइतबार, वैशाख ११ २०७९१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend