मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सवा अर्बको मास्क र स्यानिटाइजर आयात

शुक्रबार, वैशाख ९ २०७९
सवा अर्बको मास्क र स्यानिटाइजर आयात

नौ महिनाको अवधिमा १३ करोड ५३ लाख बराबरको ह्यान्ड स्यानिटाइजरको आयात भएको छ।

काठमाडाैं- चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि एक अर्ब २२ करोड २९ लाख ३९ हजार रुपैयाँ बाहिरिएको हो।

तथ्यांकअनुसार नौ महिनाको अवधिमा एक अर्ब आठ करोड ७५ लाख ४० हजार रुपैयाँ बराबरको फेस मास्क र १३ करोड ५३ लाख ९९ हजार रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको छ। नेपालमा विभिन्न ३७ देशबाट १३ करोड ९८ लाख ३८ हजार वटा मास्क आयात भएको छ। मास्क आयातबाट सरकारले आठ करोड ७६ हजार बराबर राजस्क संकलन गरेको छ।

सो अवधिमा सबैभन्दा बढी चीनबाट मास्क आयात भएको छ। चीनबाट एक करोड ३५ लाख ३९ हजार वटा मास्क आयातका लागि ८२ करोड ६४ लाख ६९ हजार नेपाली रुपैयाँ बाहिरिएको छ भने सरकारले रु छ करोड ८९ लाख ३४ हजार राजस्क संकलन गरेको छ। चीनपछि डेनमार्कबाट १३ करोड ७३ लाख २० हजार रुपैयाँ बराबरको एक लाख २० हजार वटा मास्क आयात भएको छ।

नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगालादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्वीजरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका, भियतनाम, नामिबियालगायत देशबाट फेस मास्क खरिद गरेको हो।

नौ महिनाको अवधिमा १३ करोड ५३ लाख बराबरको ह्यान्ड स्यानिटाइजरको आयात भएको छ। विभिन्न दश देशबाट छ लाख ५६ हजार ७५३ किलोग्राम स्यानिटाइजर आयात हुँदा सरकारले दुई करोड ३९ लाख ९७ हजार राजस्व संकलन गरेको छ।

नौ महिनाको अवधिमा बंगालादेश, चीन, भारत, इजरायल, जापान, कोरिया, ताइवान, युएई, युके र युएसएबाट स्यानिटाइजरको आयात भएको हो। सो अवधिमा सबैभन्दा धेरै स्यानिटाइजर भारतबाट आयात भएको छ। भारतबाट दश करोड नौ लाख बराबरको छ लाख तीन हजार किलो र युएइबाट एक करोड ६४ लाख ३५ हजार बराबरको ४७ हजार किलो स्यानिटाइजरको आयात भएको छ।

कोरोना महामारीपछि नेपालमा नै पर्याप्त मात्रामा मास्क तथा ह्याण्ड स्यानिटाइजर उद्योगस्थापना भए पनि भारतलगायत देशबाट ठूलो मात्रामा हुने आयातमा कमी आउन सकेको छैन। रासस


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend