आइतबार, असोज ६ गते २०८१    
images
images

हुलाकी राजमार्ग : १७२ किलोमिटर कालोपत्र

images
बिहीबार , वैशाख ८ २०७९
images
images
हुलाकी राजमार्ग : १७२ किलोमिटर कालोपत्र

पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिम सर्लाहीको मलंगवा खरैया टोलसम्मको २५८ किलोमिटर सडकमध्ये हालसम्म १७२ किलोमिटर सडकमा कालोपत्र सकिएको जनाएको छ।

images
images

जनकपुर- हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि सर्लाहीसम्मको करिब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ। 

images
images
images

पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिम सर्लाहीको मलंगवा खरैया टोलसम्मको २५८ किलोमिटर सडकमध्ये हालसम्म १७२ किलोमिटर सडकमा कालोपत्र सकिएको जनाएको छ।

हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको करिब २३३ किलोमिटर सडकमध्ये हालसम्म १५३ किलोमिटर सडकमा कालोपत्र सकिएको छ। बाँकी ८० किलोमिटर सडकमा पनि तीव्र रूपमा काम भइरहेको जनाएको छ।

जनकपुरधामस्थित कदम चौकदेखि कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये १८ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी आठ किलोमिटर पनि तीव्र रूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए।  

images

यस्तै सप्तरी र सिरहाको सिमा छुट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्र सकिएको र बाँकी ६ किलोमिटर सडकमा पनि केही दिनभित्रै कालोपत्र सकिने प्रमुख महतोले बताए। सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका-४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम तीव्र रूपमा भइरहेको जनाएको छ। 

दुई लेनको उक्त सडक सडक कालोपत्र गर्न एक अर्ब २० करोड २० लाख रुपैयाँमा सम्झौता भएको ठेकदार कम्पनीका इञ्जिनीयर चन्द्र यादवले जानकारी दिए। धनुषा र सिरहा खण्डमा निर्माणको कामले गति लिए पनि सर्लाही खण्डमा भन्ने भर्खरै मात्र काम सुरु भएको छ। 

सर्लाहीको शीतलपुर-मलंगवा खरैया टोलसम्मको सडक निर्माणका काम सुरुमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आए पनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामलाई हस्तान्तरण गरिएको थियो। करिब ४२ किलोमिटरको सो सडक हुलाकी राजमार्ग आयोजना कार्यालयमा हस्तान्तरण भएयता एक किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र अन्य खण्डमा माटो ग्राभेलको काम भइरहेको प्रमुख महतोले जानकारी दिए।   

चालु आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि राजमार्गभित्र परेका घरटहरा हटाउन भएको ढिलाइ, ठाउँ ठाउँमा जग्गासम्बन्धी विवाद र कोभिड-१९ माहामारीलगायत हुलाकी राजमार्ग निर्माणको कार्य केहीपछि धकेलिएको उनको भनाइ छ। 
 
यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्म सडक खण्डमा निर्माणधीन नौ वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामले जनाएको छ। सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करिब २१ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिए।

बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको उनको भनाइ छ। करिब २५ किलोमिटरको सो खण्डमा अहिले ११ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए।  

डीभीएम ७ मिटर र दुबै छेउको सोलजर २/२ मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ। २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुल निर्माण नहुँदा काम अपेक्षाकृत रूपमा अघि बढाउन नसकिरहेको कन्ट्याक्ट म्यानेजर यादवको भनाइ छ। 

मधेसकै लाइफलाईनको रूपमा मानिएको हुलाकी सडकको निर्माणको काम तीव्र रूपमा अघि बढेपछि सो भेगका स्थानीयवासी खुसी भएका छन्। हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुको साथै हजारौँ युवाहरूमा रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको विश्वास छ। हुलाकी सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका थिए। सडक निर्माण भएपछि सहजरुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ।

पूर्व-पश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकी हिँड्ने छोटो बाटो जसलाई पदम शम्शेरले आगाडि बढाएकाले पदम रोड पनि भनिने गरिन्छ। पूर्व-पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमीको ३२ वटा सहायक राजमार्ग छन्।

भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भए पनि नेपालमा २०६२÷६३ को परिवर्तन पश्चात भारत सरकारले नेपाल सरकारबाट छनोट भएका एक हजार ४४० किलोमिटर सडकको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी सम्झौता गरेको थियो। 

सो बापत लाग्ने सम्पूर्णखर्च भारत सरकारले व्यहोर्ने र जग्गा अधिग्रहण, पोल, रुख हटाउने, हुलाकी राजमार्गमापर्ने सम्पूर्ण पुलको निर्माण नेपाल सरकारले गर्ने प्रावधानसहितको समझदारी भएको थियो। तर मुलुकमा राजनीतिक उतारचढावका कारणले हुलाकी सडक निर्माणको काम बीचमै रोकिएको थियो। नेपालले गरेको रेखांकनअनुसार हुलाकी राजमार्गको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक हजार ७९२ किलोमिटर छ। रासस


प्रकाशित : बिहीबार , वैशाख ८ २०७९१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend