आइतबार, असोज ६ गते २०८१    
images
images

‘भैँसी सुत्केरी भत्ता’ ले पनौतीमा दूध उत्पादन दोबर

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
images
images
‘भैँसी सुत्केरी भत्ता’ ले पनौतीमा दूध उत्पादन दोबर

नगरपालिकाले सो अभियान सुरु गरेपछि भैँसीको सङ्ख्यामा अहिले दोब्बरले बढी भएको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । 

images
images

काभ्रेपलाञ्चोक-  झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी भैँसीलाई दुई हजार भत्ता । यसमा अनौठो मान्नु पर्दैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पहिलो बेतको भैँसी सुत्केरी हुँदा पाँच हजार र त्यसपछि दुई हजारको दरले सुत्केरी भत्ता दिँदै आएको छ । 

images
images
images

पशुपालनबाट आत्मनिर्भर बनाउन नगरपालिकाले ‘सुत्केरी भैसीलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । दुग्धजन्य खाद्यवस्तुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि पशुपालक घरपरिवारले पालेको भैँसी पहिलो बेतको सुत्केरी हुँदा  पाँच हजार र त्यसपछि रु दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।

वर्षौँदेखि गाई पाल्दै आएकी पनौती नगरपालिका-३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैँसी थपिन। नगरपालिकाले ल्याएको अनुदानपछि भैँसी थपेर दूध बिक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएकी उनले भनिन्  “गाई र भैँसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान बिमा र सुत्केरी प्रोत्साहनले अहिले अर्को भैँसी थप्ने सोचाइमा छु।” 

नगरपालिकाको तथ्याङ्कअनुसार नगर क्षेत्रमा चार हजार ७४७ भैँसीपालन गरिएको थियो । त्यस समयमा वार्षिक रुपमा करिब ५०० भैँसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे । करिब  छ करोड भैँसी खरिदमा रकम बाहिर जाने गरेको थियो । त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको थियो । उत्पादितमध्ये १५ हजार लिटर नगरभित्रै र २५ हजार काठमाडौँ उपत्यकामा खपत हुने गरेको थियो । नगरपालिकाले सो अभियान सुरु गरेपछि भैँसीको सङ्ख्यामा अहिले दोब्बरले बढी भएको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । 

images

उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य बीमा गर्नुपर्ने प्रावधान राखिएको छ । बीमा गरेबापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था भयो । नगरपालिकाले अहिले पनि खोप र घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ । नगर कृषि तथा पशुपक्षी शाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत २१७ भैँसीलाई  पाँच लाख ७५ हजार खर्च भएको छ । शाखाका प्रमुख मणिप्रसाद सापकोटाका अनुसार ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत आव २०७६÷०७७ मा ४४४ भैँसीलाई  १२ लाख र २०७७/०७८ मा ६४१ भैँसीलाई  १७ लाख ५० हजार खर्च भएको छ । 

चालू आर्थिक वर्षको हालसम्म करिब ९०० भैँसीलाई सुत्केरी भत्ता वितरण गरिएको छ । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा  ४० लाख बजेट लाग्ने अनुमान गरिएको छ । अहिले पनौतीमा सात हजार ८५८ भैँसी रहेको नगरपालिकाले जनाएको छ । खासगरी मुर्रा जातका भैँसी यहाँ पालिन्छ । हाल दूधको उत्पादन दैनिक ७० हजार लिटर हाराहारीमा रहेको बताइएको छ । तीमध्ये ५० हजार लिटर काठमाडौंमा बिक्रीका लागि पठाइन्छ । अभियान सञ्चालन गरेपछि भैँसीको सङ्ख्या झण्डै दोब्बर तथा दूध उत्पादन पनि दोबर भएको नगरप्रमुख भीम न्यौपानेले बताए। 

“हाम्रो अभियान प्रत्यक्ष किसानसँग जोडिएकाले किसानको आर्थिक अवस्था सुदृढ बन्दै जीवनस्तरसमेत उकास्सिएको छ” उनले भने।  

नगरपालिकाले हालसम्म ९५६ वटा पाडी वितरण गरेको छ । तीमध्ये आव २०७५/०७६ मा ३०० पाडी वितरण गरिएको थियो । वितरण गरिएको पाडीमध्ये अहिले १३६ वटा गर्भवती रहेको कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । रासस 


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०८:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend