मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

किसानलाई अनुदानमा चल्ला, गाईभैँसीको बीमा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
किसानलाई अनुदानमा चल्ला, गाईभैँसीको बीमा

वडाले आउँदो वर्षमा पनि बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

बागलुङ- वडाको अनुदानबाट किसानले पशुपंक्षीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडा भित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो ।

वडा स्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन हजार चल्ला वितरण गरिएको बताए।  एक सय पर्ने चल्लालाई किसानले  ५० रुपैयाँ तिरेका थिए भने समितिमार्फत वडाले ५० रुपैयाँ अनुदान दिएको थियो । “एक जनाले आठदेखि १२ वटासम्म चल्ला पाउनुभएको छ, कुखुरापालनमा किसानलाई व्यवसायउन्मुख बनाउन अनुदान उपलब्ध गराइएको हो”, अध्यक्ष सापकोटाले भने। अनुदानमा वडाको एक लाख पचास हजार खर्च भएको छ ।

समितिले गाउँटोलसम्मै पुगेर किसानलाई चल्ला बाँडेको थियो । वडामा ठूलो लगानीमा स्थानीय जातका कुखुराको व्यवसाय गरिरहेका किसान पनि छन् । अध्यक्ष सापकोटा आफैँ पनि व्यावसायिक कुखुरापालक हुन्। समितिले अनुदानमा चल्ला वितरणसँगै वडाका १३२ गाईभैँसीको बीमाका लागि किसानलाई सघाएको छ । 

एउटा भैँसीको अधिकतम  एक लाख १५ हजारसम्म मोल गरी बीमा गरिएको छ । गाईभैँसीको निर्धारित मूल्यको ८० प्रतिशत बीमा सरकारले र बाँकी २० प्रतिशतमा आधाआधा गरी समिति र किसानले तिरेका छन् । वडाको बजेटमध्ये पशु बीमामा  ६८ हजार खर्च भएको समितिले जनाएको छ । त्यति नै रकम किसानले पनि हालेका छन् । कूल बीमा रकममा किसानले वर्षेनी आफ्नो दायित्वबापतको पैसा तिर्नेछन् । वडाले आउँदो वर्षमा पनि बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

एउटै भैँसीको मृत्यु भए किसानलाई झण्डै रु एक लाख क्षति हुने हुँदा बीमाले त्यसको जोखिम घटाउने समितिको भनाइ छ । व्यावसायिक रूपमा पशुपंक्षीपालनका लागि वित्तीय संस्थाबाट ऋण लिँदा पनि बैंकहरूले बीमा खोज्ने गरेको किसान बताउँछन् । सरकारले कृषि तथा पशुबीमा कार्यक्रम ल्याएपछि व्यावसायिक ‘फार्म’ हरूलाई बढी टेवा पुगेको छ । कुनै कारणले व्यवसायमा क्षति पुगेमा बीमाबाट सोको क्षतिपूर्ति मिल्छ । रासस 


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०७:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend