मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

डाँडाखेतमा सबस्टेशन निर्माण सुरु

बुधबार, वैशाख ७ २०७९
डाँडाखेतमा सबस्टेशन निर्माण सुरु

आयोजना प्रमुख रोशन अग्रवालले सम्झौतालगत्तै डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको बताए।

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगंगा गाउँपालिका-३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो। 

मालिका-७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम सुरु भएको जानकारी दिए। 'पहिलो चरणमा घेराबार र भवन निर्माण भइसकेको छ', उनले भने, 'सबस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्याउने काम भइरहेको छ।' सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। 

आयोजना प्रमुख रोशन अग्रवालले सम्झौतालगत्तै डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको बताए। आयोजनाको ठेक्का अवधि ३० महिनाको छ। म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको हो।

पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ९० टावर निर्माण हुनेछन्। डाँडाखेत सबस्टेशनमा १३३/३३ केभी, ३० एमभीए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ। यस्तै २२०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जीआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए। 

एसियाली विकास बैंकको ऋण सहयोगमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो। डाँडाखेतमा सबस्टेशन बनाउन चार वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ। दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण गरिएको छ। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार जलविद्युत् आयोजना निर्माणमा चरणमा छन्। 

धवलागिरि हिमालको फेदबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन्। थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन्। सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएका प्रवद्र्धक सक्रिय भएका छन्।

गैरआवासीय नेपालीको अगुवाइमा धवलागिरि-कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङ निर्माण थालेको छ। धवलागिरि गाउँपालिका-४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ। 

धवलागिरि गाउँपालिका-४ मा नै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाको संरचना सुरु गर्ने तयारी गरेको छ। अपर हाइड्रोपावर प्रालि काठमाडौंले धवलागिरि र मालिका गाउँपालिकामा बनाउन लागेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पुर्‍याउने काम भइरहेको छ। रासस


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend