मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मनाङका स्याउ बगैँचा फुलेर सेताम्मे

मंगलबार, वैशाख ६ २०७९
मनाङका स्याउ बगैँचा फुलेर सेताम्मे

स्याउका बिरुवा ल्याएर रोपेपछि सुरु भएको स्याउ खेती आजसम्म जिल्लाभरि फैलिएको छ।

मनाङ- हिमाली जिल्ला मनाङको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ। जिल्लैभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो। मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ। त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरुमा फूल फुलेर अहिले सेताम्य भएको छ। चैत बैशाखमा स्याउ फुल्ने र असोज कात्तिकमा पाक्ने गर्छ।  

इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर यहाँ रोपेको हो। स्याउका बिरुवा ल्याएर रोपेपछि सुरु भएको स्याउ खेती आजसम्म जिल्लाभरि फैलिएको छ। यहाँ चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नाँसो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ।

अहिले मनाङमा तीन जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरुको भनाइ छ। यहाँ गोल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् भने केही स्थानमा रैथाने र विकासे स्याउ पनि फल्न गरेका छन्।

मनाङको स्याउले काठमाडौं, पोखरा, लमजुङलगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ। पछिल्लो समय जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ भने मनाङे स्याउ पाए भने मन नपराउने भने कोही नेपाली छैनन्। पछिल्ला दिनहरुमा सडक सञ्जालसँग मनाङ जिल्ला जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको किसानको भनाइ छ।  
 
जिल्ला डुम्रे-बेँसीसहर-चामे सडकखण्ड जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन्। आफूले फलाएको स्याउले सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसान उत्साहित भएका हुन्। उनीहरु भन्छन्, 'गर्नसक्यो भने मनाङको स्याउको इज्जत नै अर्कैछ, तर ठूला सहर बजार टाढै छन्, त्यसले गर्दा मुख्य समस्या ढुवानीमै छ।' वर्षदिनमै उत्पादन दिने र राम्रो बजार पाइन थालेपछि स्थानीय बासिन्दा इटालियन स्याउतर्फ आकर्षित भएका हुन्।

एग्रो मनाङले ७३५ रोपनी जग्गामा स्याउखेती गरेको छ। एग्रोले ६ वर्षअगाडि इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर रोपेको हो। स्याउखेती गर्दै आएका एग्रो मनाङका समराज गुरुङले राम्रो उत्पादन भइरहेको बताए। यो मनाङको हावापानी सुहाउँदो स्याउ भएको उनको भनाइ छ। स्याउ फर्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ। 'हरेक वर्ष स्याउको उत्पादन वृद्धि भइरहेको छ भने बिक्री वितरण गर्ने दर पनि वृद्धि भएको छ। राज्यले स्याउ खेतीलाई प्राथमिकता दिएको र यहाँका किसानले पनि मेहनत गर्ने भएकाले हरेक वर्ष मनाङमा स्याउ उत्पादन बढ्दै गएको छ', उनले भने। 

स्याउलाई स्टोर गर्न भ्राताङ, बेँसीसहर र काठमाडौंमा शीतभण्डार बनाएको छ। एग्रो मनाङले समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो। रासस


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend