मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मौरीपालन व्यवसाय : महमा भन्दा घारमा नाफा

मंगलबार, वैशाख ६ २०७९
मौरीपालन व्यवसाय : महमा भन्दा घारमा नाफा

रमेटारमा भने उनले अर्कैको खेतमा मौरी व्यवस्थापन गर्दै आएका छन्। घारलाई सजिलै स्थानान्तरण गर्न मिल्ने भएकाले चरनका लागि यताउता लैजान मिल्ने उनको भनाइ छ।

गलकोट- बागलुङ नगरपालिका-४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन्। खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन्। खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन्। 

म्याग्दीको बेनी नगरपालिका-४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सुन्तला खेती गर्दै आएका खत्रीले २०७२ बाट मौरीपालन गर्न थालेका हुन्। २००२ मा इलेक्ट्रोनिक्स कामका लागि दुबई जाएका खत्री दुई वर्षमै नेपाल आए। पुनः मलेसिया जानुभएका खत्री सन् २००९ मा मलेसियाबाट फर्किएका थिए। मलेसियाबाट फर्केपछि खत्रीको आफ्नै घरको पाखो बारीमा सुन्तला खेती गर्ने सोच पलायो। वैदेशिक रोजगारीमा राम्रो नभएपछि खत्री सुन्तला र पछि मौरीपालनमा आकर्षित भएको बताए। उनको १० रोपनी जग्गामा रहेका २०० सुन्तलाका बोटले आम्दानी दिइराखेका छन्।  

उनले यस वर्षमात्रै छ लाख रुपैयाँको सुन्तला बेचेरै भित्र्याएका थिए। सुन्तलामा मनग्य आम्दानी देखेका उनले घर नजिकैको १० रोपनी बाँझो जग्गा भाडामा लिएर अहिले २०० सुन्तलाका नयाँ बिरुवा लगाएका छन्। खत्रीको घर बागलुङ नगरपालिका-४ रमेटारमा समेत छ। रमेटारमा मौरी र सुर्केमेलामा सुन्तला खेती विस्तारमा उनको ध्यान छ। 

स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका खत्रीले दुई वर्षदेखि मौरीपालनको क्षेत्र बागलुङलाई रोजेका हुन्। उनले मौरीको महभन्दा मौरीसँगैको घार बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन्। खत्रीले गत वर्षमात्रै ११० मौरीसहितको घार बिक्री गरेर १० लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट एक लाख १३ हजार रुपैयाँ आम्दानी गरेको बताए। 

'हाम्रो आम्दानी वार्षिक हुन्छ, यही वर्ष सुन्तला, मौरीको घार र मह बिक्री गरेर १७ लाखभन्दा बढी आम्दानी गरेको रहेछु', खत्रीले भने, 'मेरो लगानी २० लाख पुग्यो, २०० सुन्तलाका बिरुवाले उत्पादन दिनै बाँकी छ, नयाँ सोचका साथ कृषिमा आएको थिएँ, राम्रो आम्दानी भएको छ, म्याग्दीमा सुन्तलाका लागि राम्रो मानियो भने बागलुङको रमेटारमा मौरीपालन।'

खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट लैजाने गरेको बताए। 'महभन्दा मौरीसहितको घार बिक्रीमा फाइदा छ, मौरीसहितका घारलाई ९ हजार ५०० पर्छ, खाली घारलाई ३ हजार ५०० पर्छ। मह केजीको १ हजार ३०० पर्छ', खत्रीले भने, 'मैले आफैँ घार निर्माण गरेर मौरी व्यवस्थापन गर्दै आएको छु, मौरीसहितका घार र सुन्तला बिक्री नै मेरो मुख्य लक्ष्य हो।'

खत्रीले १० रोपनी बाँझो पल्टिएको जग्गालाई १५ वर्षका लागि वार्षिक २० हजारका दरले भाडा तिरेर सुन्तला खेती गर्दै आएका छन्।  मौरीको चरनका लागि तोरीखेती हुने क्षेत्र उपयुक्त हुने भएकाले रमेटारमा मौरीपालन व्यवसाय फष्टाएको उनको भनाइ छ।

सुन्तलाको फूल र तोरीको फूलका कारण मौरीपालन राम्रो हुँदै आएको छ। रमेटारमा भने उनले अर्कैको खेतमा मौरी व्यवस्थापन गर्दै आएका छन्। घारलाई सजिलै स्थानान्तरण गर्न मिल्ने भएकाले चरनका लागि यताउता लैजान मिल्ने उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend