मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन आग्रह

आइतबार, वैशाख ४ २०७९
सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन आग्रह

त्यसबाट यस क्षेत्रमा आबद्ध २० हजारभन्दा बढी व्यवसायी हजारौँ कालिगडको रोजीरोटी नै संकटमा परेको उनीहरूको भनाइ छ।

काठमाडाैं- सुनचाँदीको आपूर्ति ठप्प भएपछि वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामूहिक रुपमा आग्रह गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघको संयोजनमा आज बसेको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारलाई अनुरोध गरेको हो।

अत्यावश्यक वस्तुबाहेक अन्यको एलसी नखोल्ने बैंकहरूको गत साताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ। त्यसबाट यस क्षेत्रमा आबद्ध २० हजारभन्दा बढी व्यवसायी हजारौँ कालिगडको रोजीरोटी नै संकटमा परेको उनीहरूको भनाइ छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विदेशी मुद्राको सञ्चिति घटेको हालको अवस्थामा बैंकहरूबाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई नियमित राख्न वैकल्पिक व्यवस्था अवलम्बन गर्नुपर्ने बताए। विदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्ने गरी आन्तरिक स्रोत र अन्य उपाय अवलम्बन गरी अहिलेको गर्जो टार्न सकिने उनको भनाइ छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सरकार, सुनचाँदी व्यवसायी र आम उपभोक्ता सबैलाई सहज हुनेगरी आपूर्तिको विकल्प खोज्नुपर्नेमा जोड दिए। 

यस्तै नेपाल हस्तकला व्यवसायी महासंघका अध्यक्ष प्रचण्ड शाक्यले  कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फी समस्या आएको भन्दै त्यसको निराकरणका लागि तीनैवटा संस्था संयुक्तरूपमा लागि पर्नुपर्ने खाँचो औँल्याए। 

सुनचाँदी क्षेत्रमा काम गर्दै आएको तीनैवटा छाता संस्थाका तर्फबाट एउटा साझा संयन्त्र बनाएर समस्या समाधानका लागि अगाडि बढ्ने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासैघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, वैशाख ४ २०७९१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend