आइतबार, असोज ७ गते २०८०    

बेनी-मालढुंगा सडक दैनिक पाँच घण्टा बन्द

images
बेनी-मालढुंगा सडक दैनिक पाँच घण्टा बन्द

बेनी-मालढुंगा सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो।

images

म्याग्दी- म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुंगा सडक स्तरोन्नतिका लागि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ। 

images

बेनी-मालढुंगा सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बेनी-मालढुंगा सडकमा यातायात बन्द गरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ। 

images

सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी-जोमसोम-कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेका थिए। यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो। 

images

बेनी-मालढुंगा सडक बन्द हुने समयमा बेनी-रत्नेचौर-बागलुङ हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ। एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ। 

images

एपेक्स-खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताउनुभयो। कुश्मा नगरपालिका-१ मा पर्ने मालढुंगा देखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ। 

बेनी-मालढुंगा सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ। २०७७ चैतमा  ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ।  

हाल कालोपत्रसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो।  २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको बेनी-मालढुंगा सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो। 

सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवतजावत प्रभावित हुने गरेका छन्। बर्खामा पहिराले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झन्झट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको छ। म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने बेनी-मालढुंगा सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ।

images

प्रकाशित : शनिबार, वैशाख ३ २०७९१२:२१

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ