मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

विद्युतीय कार उत्पादन गर्न होन्डाले ४० अर्ब डलर लगानी गर्ने

बुधबार, चैत ३० २०७८
विद्युतीय कार उत्पादन गर्न होन्डाले ४० अर्ब डलर लगानी गर्ने

होन्डाले उक्त रकम आगामी दशकमा लगानी गरिसक्ने जनाएको छ। होन्डाले सो रकम सफ्टवेयर निर्माण, रिसर्च एन्ड डेभलपमेन्ट र विभिन्न मोडलका कार बजारमा ल्याउन खर्चने छ। 

काठमाडौं- जापानी कार उत्पादक कम्पनी होन्डाले विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिने भएको छ। विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन होन्डाले ५० खर्ब यन (३९.८ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको हो।

विश्व बजारमा विद्युतीय कारको माग बढ्दै गएको र प्रदूषणरहित सवारीलाई प्रोत्साहन गर्ने विश्वनीति अनुरुप होन्डाले उक्त घोषणा गरेको हो। 

होन्डाले उक्त रकम आगामी दशकमा लगानी गरिसक्ने जनाएको छ। होन्डाले सो रकम सफ्टवेयर निर्माण, रिसर्च एन्ड डेभलपमेन्ट र विभिन्न मोडलका कार बजारमा ल्याउन खर्चने छ। 

२०३० भित्र होन्डाले मिनी कार, एसयूभीसहित ३० वटा नयाँ विद्युतीय कार बजारमा ल्याउने योजना बनाएको छ। सोही अवधिसम्ममा होन्डाले विश्वभर रहने आफ्नो प्लान्टबाट वार्षिक २० लाख विद्युतीय कार उत्पादन गर्ने जनाएको छ। 

त्यस्तै होन्डाले सोलिड-स्टेट ब्याट्री उत्पादन गर्ने दाबी समेत गरेको छ। उक्त ब्याट्री लिथियम आयनको तुलनामा हलुका र छिटो चार्ज हुने क्षमता राख्ने दाबी कम्पनीको छ। होन्डाले आफ्नै लाइनअपमा सोलिट स्टेट ब्याट्री उत्पादनका लागि ३४ करोड डलरभन्दा बढी लगानी गर्ने जनाएको सीएनएनले लेखेको छ। 

दक्षिण अमेरिकाका लागि उत्पादन हुने विद्युतीय कारमा प्रयोग हुने ब्याट्री भने होन्डाले जीएमसँग साझेदारी गर्ने बताएको छ। तर होन्डाको सोलिड स्टेट ब्याट्रीको उत्पादन मा भने संयुक्त उपक्रमको कुनै कुरा नभएको कम्पनीले जनाएको छ। त्यस्तै चिनियाँ बजारका लागि होन्डाले विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक सियाटलसँग सम्झौता गरेको छ। 

होन्डाले आफ्ना प्रतिस्पर्धीहरुसँग विद्युतीय कार बजारमा प्रतिस्पर्धा गर्नका लागि ठूलो लगानी घोषणा गरेको हो। फक्सवागन र टोयोटाले हालसम्म विद्युतीय कारका लागि ३५ अर्ब डलर लगानी गर्ने बताइसकेका छन्। त्यस्तै हुन्डाईले पनि विद्युतीय कार र अटोनोमस कार उत्पादनमा ठूलो लगानी गर्ने बताइसकेको छ। 


प्रकाशित : बुधबार, चैत ३० २०७८०७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend