मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एनआरएनएले गैरआवासीय नेपालीसमक्ष डलर पठाउन आग्रह गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २९ २०७८
एनआरएनएले गैरआवासीय नेपालीसमक्ष डलर पठाउन आग्रह गर्ने

विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया समेत गर्ने।

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले देशमा आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको छ। जसमा गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने र उक्त खातामा कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने निर्णय पनि गरेको हो।

विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया समेत गर्ने भएको छ।

संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको प्रवक्ता शिव बरुवालले जानकारी दिए।

बैठकले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई समाधान गर्न अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंकका अधिकारी र अर्थविद्लगायतको उपस्थितिमा बुधबार बृहत अन्तरक्रिया गर्ने निर्णय गरेको हो। सो कार्यक्रममार्फत विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने र उक्त खातामा कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता बरुवालले जानकारी दिए।

यस्तै बैठकले विदेशबाट अनलाइनमार्फत डलर खाता खोल्दा, डलर पठाउँदा, सो खातामा बचतमा राख्दा र आवश्यक परेका बेला उक्त रकम फिर्ता लैजाँदा आउने समस्या तथा मौद्रिक नीतिले गैरआवासीय नेपालीलाई पारेको अप्ठ्यारोका बारेमा अध्ययन गरी समस्या समाधान गर्न सरकारलाई सुझाव दिने उद्देश्यले उपाध्यक्ष भुषण घिमिरेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। सो कार्यदलमा संघका सबै उपाध्यक्ष सदस्य रहेका छन्।

उक्त कार्यक्रममा सम्पूर्ण गैरआवासीय नेपालीलाई सहभागी गराउन महासचिवद्वय गौरी जोशी र डा केशव पौडेलको नेतृत्वमा सम्पूर्ण उपमहासचिव, सचिव रहने प्रचारप्रसार समिति गठन गरिएको प्रवक्ता बरुवालले जानकारी दिए।

यसैगरी संघले कोषाध्यक्षको नेतृत्वमा सबै सहकोषाध्यक्ष सदस्य रहने गरी डलर खाता खोल्नको लागि चाहिने कागजपत्र, प्रक्रिया र आर्थिक पक्षको अध्यन गरी सम्पूर्ण गैरआवासीय नेपालीलाई जानकारी गराउने र डलर खाता खोल्न सहजीकरण गर्ने  निर्णय गरेको छ।

पछिल्लो समय आयात बढ्दै जाँदा मुलुकमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको छ। सरकारले विप्रेषण बढाउन पनि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आह्वान गर्ने तयारी गरेको बुझिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार मुलुकको आर्थिक परिदृश्यबारे विदेशस्थित कूटनीतिक नियोगका प्रमुखलाई जानकारी गराउँदै विप्रेषण अभिवृद्धि र पर्यटन प्रवद्र्धनमा लाग्न निर्देशन दिएका थिए। रासस


प्रकाशित : मंगलबार, चैत २९ २०७८०७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend