मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एमजीले भारतमा दोस्रो प्लान्ट स्थापना गर्न ४० अर्ब भारु लगानी गर्ने

मंगलबार, चैत २९ २०७८
एमजीले भारतमा दोस्रो प्लान्ट स्थापना गर्न ४० अर्ब भारु लगानी गर्ने

आगामी २ वर्षभित्र भारतबाट वार्षिक ३ लाख कार उत्पादन गर्न चाहन्छ एमजी। 

काठमाडौं- एमजी मोटर इन्डियाले भारतमा दोस्रो कार उत्पादन प्लान्ट स्थापना गर्न करिब ४० अर्ब भारु लगानी गर्ने भएको छ। प्लान्ट कहाँ राख्ने भनेर एमजीले गुजरातसहित अन्य केही राज्य सरकारसँग कुरा गरिरहेको छ। 

हाल एमजीको गुजरातमा कार उत्पादन प्लान्ट रहेको छ। उक्त प्लान्टबाट हुने उत्पादनलाई बढाएर २०२३ भित्र वार्षिक १ लाख २५ हजार बनाउने तयारी कम्पनीको छ। नयाँ प्लान्ट स्थापना गरेर त्यसबाट वार्षिक १ लाख ७५ हजार कार उत्पादन गर्ने लक्ष्य एमजी इन्डियाको छ। आगामी २ वर्षभित्र भारतबाट वार्षिक ३ लाख कार उत्पादन गर्न चाहन्छ एमजी। 

भारतमा दोस्रो प्लान्ट राख्नका लागि गुजरात सरकारसँग पनि कुरा भइरहेको र अन्य राज्य सरकारसँग पनि छलफल गरिरहेको एमजी इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजीव चावले बताएको इकोनोमिक टाइम्सले लेखेको छ। गुजरातको हलोलमा रहेको प्लान्टकै आसपासमा सरकारले जग्गा उपलब्ध गराए त्यही विस्तार गर्ने योजना कम्पनीको रहेको उनको भनाइ छ। 

गत वर्ष नै एमजीले हलोल प्लान्टको क्षमता वृद्धिका लागि साढे २ अर्ब भारु लगानी गर्ने घोषणा गरेको थियो। हलोल प्लान्टमा हाल वार्षिक ७० हजार कार उत्पादन क्षमता रहेको छ। कम्पनीले यसलाई विस्तार गरेर आगामी वर्षदेखि वार्षिक १ लाख २५ हजार पुर्‍याउन चाहेको छ। 

एमजीले हाल भारतमा मुख्य गरि ४ वटा मोडल हेक्टर, ग्लोस्टर, एस्ट्रो र जेडएस इभी उत्पादन गर्दै आएको छ। 

एमजीका कार नेपाली बजारमा समेत उपलब्ध छन्। एमजीका कार पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको छ। एमजीका जेडएस, जीएस, एचएस, जेडएस इभी, हेक्टरका विभिन्न धेरियन्ट उपलब्ध छन्। 

एमजीको जेडएस इभी नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय कार मध्यमा पर्दछ। सो कारको माग अनुसार उपलब्ध गराउन नसकिएको कम्पनीले जनाएको छ। 


प्रकाशित : मंगलबार, चैत २९ २०७८०५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend