शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

लाइसेन्स ट्रायलमा '७० नम्बर' ल्याए पास हुने मापदण्ड कहिले कार्यान्वयन हुन्छ? 

कार्यालयहरुले पुरानैमा परीक्षा लिँदै

सोमबार, असोज ४ २०७८
लाइसेन्स ट्रायलमा '७० नम्बर' ल्याए पास हुने मापदण्ड कहिले कार्यान्वयन हुन्छ? 

विभागले लामो छलफल र प्रयासपछि ‘सवारी चालक अनुमति पत्र सञ्चालन कार्यविधि निर्देशिका २०७७’ २०७७ चैत १९ गते स्वीकृत गरेको थियो। नयाँ निर्देशिका अनुसार वर्ग क (मोटरसाइकल, स्कुटर र मोपेड) र वर्ग ख (कार, जिप र डेलिभरी भ्यान)को लाइसेन्स लिन चाहनेका लागि सहजीकरण गर्दै नयाँ व्यवस्था गरेको हो। 

काठमाडौं- यातायात व्यवस्था विभागले लाइसेन्सको परीक्षा मापदण्ड परिवर्तन गर्‍याे। यसअघिको मापदण्डमा लिखित परीक्षाको प्रश्न गोप्य हुन्थे भने ट्रायल परीक्षामा १०० पूर्णाङ्क ल्याउनु पर्थ्याे।

तर नयाँ मापदण्डमा लिखित परीक्षामा सोधिने प्रश्न वेबसाइटमै राखिने भयो भने ट्रायलमा ७० अङ्क ल्याए पस हुने व्यवस्था भयो। 

विभागले लामो छलफल र प्रयासपछि ‘सवारी चालक अनुमति पत्र सञ्चालन कार्यविधि निर्देशिका २०७७’ २०७७ चैत १९ गते स्वीकृत गरेको थियो। नयाँ निर्देशिका अनुसार वर्ग क (मोटरसाइकल, स्कुटर र मोपेड) र वर्ग ख (कार, जिप र डेलिभरी भ्यान)को लाइसेन्स लिन चाहनेका लागि सहजीकरण गर्दै नयाँ व्यवस्था गरेको हो। 

तर विभागले ल्याएको निर्देशिका भने कार्यान्वयनमा आउन सकेको छैन। विभागले केही साताअघि देशभरका यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रका प्रमुखहरूलाई बोलाएर नयाँ निर्देशिका कार्यान्वयन गर्ने बारे ‘डेमो’ समेत देखाएको थियो। 

महानिर्देशक सहित विभागको प्राविधिक टोलीले दिएको डेमो तत्काल कार्यान्वयन गर्न नसकिने जवाफ कार्यालय प्रमुखहरूले दिएका थिए। त्यसपछि विभाग फारम भरेर प्रक्रियामा रहेकाहरूलाई पुरानै नियम अनुसार लिखित र ट्रायल परीक्षा गराउन सहमत भएको हो। 

यता विभागका महानिर्देशक नमराज घिमिरे भने पुरानै नियम अनुसार परीक्षा प्रकृया थालिएकाले यसमा नयाँ निर्देशिका लागू नगराउन उनीहरूले भनेको बताए।

‘उहाँहरु (कार्यालय प्रमुख)ले पुरानो प्रक्रियाबाट प्रवेश गर्नु भएकाले नयाँमा जटिलता हुनसक्ने बताउनु भयो,’ उनले भने, ‘फारम भरेर लाइसेन्सको परीक्षाका क्रममा रहेकाले पुरानै र नयाँ फारमबाट आउने परीक्षार्थीले नयाँ निर्देशिका अनुसार परीक्षा दिने छन्।’ 

अब फारम भर्नेहरुको परीक्षा नयाँ निर्देशिका अनुसार गराउन कार्यालय प्रमुखहरू सहमत रहेको उनको भनाइ छ। 

नयाँ निर्देशिका अनुसार अब लाइसेन्सको परीक्षा दिने परीक्षार्थीले लिखितको प्रश्न पत्र विभागको वेबसाइटमै पाउने छन्। विभागले क र ख दुवै वर्गका लागि ५\५ सय प्रश्न वेबसाइटमा राखेको छ। 

लिखित परीक्षामा ६० अंक ल्याए उत्तिर्ण हुने नियम छ। ट्रायल परीक्षामा ७० अङ्क ल्याउनेलाई लाइसेन्स दिने व्यवस्था गरिएको छ। ट्रायल परीक्षाका विभिन्न ७ चरणलाई भिन्दाभिन्दै अंकभार दिइएको छ। 

त्यस्तै नयाँ निर्देशिकाले कार्यालयहरूलाई लिखित परीक्षा अनलाइन माध्यमबाट लिन सक्ने व्यवस्था गरेको छ। 

विभागले लाइसेन्सको नयाँ फारम आगामी सातादेखि खोल्ने तयारी गरेको छ। निषेधाज्ञा सुरु भएसँगै बैशाख १६ देखि रोकिएको लाइसेन्सको नयाँ फारम खुल्ने भएको हो। 

कोरोना भाइरस संक्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण रोकिएको लाइसेन्सको परीक्षा भने विभागले भदौ २० बाट सुरु गरेको थियो। यातायात व्यवस्था विभागले भदौ दोस्रो साता परीक्षा सञ्चालन मापदण्ड तय गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। 

लाइसेन्स लिन चाहनेहरुको संख्या बढ्दै गएकाले विभागले नयाँ लाइसेन्सका लागि फारम खुलाउने तयारी गरेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए। 

विभागले ‘कोभिड १९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८’ स्वीकृत गरेर लाइसेन्सको परीक्षा सञ्चालन गर्न थालेको थियो। 


प्रकाशित : सोमबार, असोज ४ २०७८१३:५५
  • सम्बन्धित विषय:

  • # लाइसेन्स
  • # लाइसेन्स ट्रायल


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend