शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अर्थमन्त्रीले कोरोना नियन्त्रणका लागि विश्व बैंकसँग मागे थप सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
अर्थमन्त्रीले कोरोना नियन्त्रणका लागि विश्व बैंकसँग मागे थप सहयोग

मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए। 

काठमाडौं-  अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याएका छन्। 

सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको बताए। 

'विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ', उनले भने,'कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ । यसका लागि धन्यवाद दिन चाहन्छु।'

मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए। 

'सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थानतर्फ अगाडि बढ्न अग्रसर छ, यसमा विश्व बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ' उनले भने। 

नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै  मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे। 

भेटका अवसरमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपाललाई सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे।  साथै उनले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे। 

 

 


प्रकाशित : सोमबार, असोज ४ २०७८१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend