मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

ग्रामीण विकासको मुख्य आधार लघुवित्त : कामु गभर्नर

सोमबार, चैत २८ २०७८
ग्रामीण विकासको मुख्य आधार लघुवित्त : कामु गभर्नर

कायममुकाय गभर्नर तिम्सिनाले लघुवित्त वित्तीय संस्थाहरुको सेवा देशका ७७ वटै जिल्लामा पुगेको र सञ्चालनमा आएका शाखाको संख्या ४९८५ रहेको जानकारी गराइन्।

काठमाडौं- तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा नीलम ढुंगाना तिम्सिनाले लघुवित्त ग्रामीण विकासको मुख्य आधार भएको बताइन्।

लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैंगिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको उनले बताइन्। 'लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई प्रदान गर्ने वित्तीय सेवाहरुलाई जनाउँछ, जसले उनीहरुलाई स्वरोजगारका अवसरहरु विकास गर्न र विभिन्न आय आर्जन गर्ने गतिविधिहरु विस्तार गर्न मद्दत पुयाउँछ' उनले भनिन्।

लघुवित्तले महिलाहरुको आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका खेलेको उनले बताइन्। 'पुरुषहरुको अनुपातमा महिलाहरुको रोजगारीलगायत आयआर्जन हुने क्षेत्रमा सहभागिता कम रहेतापनि लघुवित्त वित्तीय संस्थाहरुले ग्रामीण विपन्न वर्गका महिलाहरुलाई उत्पादनशील क्रियाकलापमा संलग्न गराई रोजगारी सिर्जनालगायत ग्रामीण महिलाको उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्' उनले भनिन्, 'औपचारिक रोजगारी वा जीविकोपार्जनका वैकल्पिक अवसरहरुको अभावले मुलुकको आर्थिक विकासमा महिलाहरुको सहभागितालाई सीमित बनाएको सन्दर्भमा लघुवित्त वित्तीय संस्थाहरुले महिलाहरुलाई आर्थिक गतिविधिमा सहभागी गराउन अभिप्रेरित गर्दै आएका छन्।'

समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासको बावजूद मुलुकको कुल जनसंख्याको करिब १८ प्रतिशत हिस्सा अझै पनि गरिबीको रेखामुनि रहेको उनले बताइन्। अझै पनि २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरुलाई गरिबीनिवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि प्रभावकारी साधन मानिएको उनको भनाइ छ।

'नेपालमा लघुवित्तको अभ्यास सुरु भएको साढे चार दशकभन्दा पनि बढी भइसकेको छ। यसबीच गरिबी निवारणका धेरै पहल सुरु गरिएतापनि लघुवित्त कार्यक्रम मात्र गरिबीनिवारण र ग्रामीण विकासको मुख्य आधार भएको छ।'

कायममुकाय गभर्नर तिम्सिनाले लघुवित्त वित्तीय संस्थाहरुको सेवा देशका ७७ वटै जिल्लामा पुगेको र सञ्चालनमा आएका शाखाको संख्या ४९८५ रहेको जानकारी गराइन्। २०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको कुल सदस्य संख्या ५६ लाख २२ हजार रहेको र त्यसमध्ये पुरुषको संख्या १ लाख ५१ हजार मात्र रहेको उनले जानकारी गराइन्। महिलाको संख्या भने ५४ लाख ७१ हजार रहेको छ। लघुवित्त वित्तीय संस्थाहरुबाट ऋण लिने सदस्यको संख्या ३१ लाख ७१ हजार रहेको छ, जसअन्तर्गत पुरुषको संख्या ८३ हजार छ भने महिलाको संख्या ३० लाख ८८ हजार रहेको छ।

यद्यपी महिलाहरुसंग सम्पत्तिको स्वामित्वको कमी भएकाले महिलाद्वारा विभिन्न व्यवासय थालनी गर्दा आवश्यक हुने कर्जाको धितो समेतको अभाव भएको देखिएको उनले बताइन्। 'कुल पुरुषको जनसंख्या मध्ये ५६ प्रतिशत पुरुषहरुको वित्तमा पहुँच रहेको छ भने महिलाहरुको कुल जनसंख्या मध्ये मात्र ३६ प्रतिशत पहुँच रहेको छ। आर्थिक स्रोतमाथि महिलाको पहुँच र नियन्त्रण पनि निकै कम भएको अवस्था छ' उनले भनिन्।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै सम्मेलन आयोजक समितिका अध्यक्ष शंकर मान श्रेष्ठले देशमा अझै १८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकाले लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्नेमा जोड दिए। उनले एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिएको भन्दै त्यसमा कडाई गर्नुपर्ने बताए।

'नाफा कमाउने होडमा लघुवित्त संस्थाहरु लागेको देखिन्छ। यति नाफा कमाए, उति नाफा कमाए भनिएको छ। तर, त्यो लघुवित्तको साथर्ककता होइन। लघुवित्त कमाउ धन्दामा फस्नु भएन। लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्छ। २२/२४ वटा संस्थाबाट समेत कर्जा लिएको पाएको छु। त्यसैले संख्यात्मक वृद्धि गर्न सदस्य खोसाखोस नगरौं,' उनले भने। बहुकर्जाले लघुवित्तलाई अल्मल्याएको उनको भनाइ छ।

लघुवित्त सेवाको संस्कार गिर्दो अवस्थामा रहेको भन्दै उनले समयमै सच्चिन आग्रह गरे। ‘सक्षम’ नामक विदेशी परियोजनाले जथाभावी लघुवित्तको शाखा बढाउन लगाएको समेत उनले बताए। उनले अरुको भड्काउन नलाग्न आग्रह गरे। 'अरुको खुट्टामा उभिने होइन। हामी आफ्नै खुट्टामा उभिन सक्नुपर्छ। आत्ममूल्यांकन गरौं, हामी सक्षम छौं, गन्तव्यमा पुग्छौंं,' उनले भने।  

उनले लघुवित्तहरु स्वःनियमनमा बस्नुपर्ने आवश्यकता औल्याए। 'पुरानो ढर्राबाट अब चल्न हुँदैन। अहिले नै सचेत बन्नुपर्छ। ढिला गर्न हुँदैन। स्वः नियममा बस्न अरुले निर्देशन दिन पर्दैन। राम्रो कामका लागि नेपाल राष्ट्र बैंकको निर्देशन कुर्नु पर्दैन,' उनले भने।


प्रकाशित : सोमबार, चैत २८ २०७८०८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend