मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

केपी ओलीले पठाए हलेसीमा चार लाख भेटी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २८ २०७८
केपी ओलीले पठाए हलेसीमा चार लाख भेटी

पत्नी राधिका शाक्यसँगै हलेसी मन्दिर दर्शन तथा मारतिका गुम्बा अवलोकन गरेका ओलीले हलेसीको धार्मिक, ऐतिहासिक र पौराणिक महत्वका बारेमा चर्चा गरेका थिए।

खोटाङ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धार्मिकस्थल हलेसी मन्दिरलाई दुई लाख र हलेसी मारतिका गुम्बालाई दुई लाख गरी चार लाख रूपैयाँ भेटी पठाएका छन्।

गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष ओलीले हलेसी मन्दिर तथा गुम्बा अवलोकन गरेपश्चात् भेटीस्वरुप मन्दिर र गुम्बालाई दुई/दुई लाख रुपैयाँ दान गर्ने घोषणा गरेका थिए।

अध्यक्ष ओलीको घोषणा अनुसार रामनवमीको अवसर पारेर एमाले केन्द्रीय सदस्य एवम् खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले सो रकम हस्तान्तरण गरेका हुन्। एमालेले आइतबार मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डोमा लामालाई अध्यक्ष ओलीले पठाएको रकम हस्तान्तरण गरेको हो। 

एमाले अध्यक्ष ओलीले पठाएको सहयोग रकम ग्रहण गर्दै गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लामाले ओलीको स्वास्थ्य दीर्घायुको कामना गरे। भेटी हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला सचिव कुमार आचार्य, उपसचिव दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई, हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेल  लगायतको उपस्थिति रहेको थियो।

पत्नी राधिका शाक्यसँगै हलेसी मन्दिर दर्शन तथा मारतिका गुम्बा अवलोकन गरेका ओलीले हलेसीको धार्मिक, ऐतिहासिक र पौराणिक महत्वका बारेमा चर्चा गरेका थिए। प्रेस चौतारी नेपालले हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरेको सङ्क्षिप्त पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकासका लागि आफ्नो नेतृत्वको सरकारले आवश्यक बजेट उपलब्ध गराएको समेत स्मरण गराएका थिए। रासस


प्रकाशित : सोमबार, चैत २८ २०७८०६:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend