मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

यातायात व्यवसायीलाई आग्रह गर्दै गृहमन्त्री भन्छन् - यात्रुलाई बोझ पर्नेगरी भाडा नलिनुस्

आइतबार, चैत २७ २०७८
यातायात व्यवसायीलाई आग्रह गर्दै गृहमन्त्री भन्छन् - यात्रुलाई बोझ पर्नेगरी भाडा नलिनुस्

यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेकोसमेत उनले बताए।

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरूलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्। एकै ठाउँमा जाँदा पनि फरकफरक भाडा दर हुने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि उनले बताए। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पारे।

गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताए। त्यसका लागि सरकारले सरोकारवाला पक्षहरूसँग बृहत छलफल गरेर अघि बढन चाहेको गृहमन्त्री खाँणको भनाइ थियो।

‘यात्रुहरूलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस्। त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई। अब यात्रको बारेमा पनि बोल्नुपर्छ जस्तो लाग्यो। यात्रुहरूको गुनासो के छ भन्दाखेरी एकैठाउँमा जाँदा पनि भाडा फरकफरक हुन्छ। भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नपरोस्। अर्को यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकार सदा तयार छ’ उनले भने।

गृहमन्त्री खाँणले सरकारले सबै खालका उद्योगी, व्यवसायीहरूको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भीरतापूर्वक लिएको बताए।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कन्डिशनमा नभएको गाडी संचालनमा रोक लगाउन सरकारले अझै कडाई गर्ने बताइन्। उनले ब्रेक फेल भएको गाडी चलाउँदा कयौको ज्यान गएको उल्लेख गर्दै त्यस्ता गाडीहरूलाई संचालन गर्न दिन नमिल्ने बताइन्।

मन्त्री यादवले गाडीहरूको नियमित परीक्षण गर्न पनि यातायात व्यवसायीहरूलाई सचेत गराइन्। ‘गाडी परीक्षण गरेर मात्रै संचालन गर्नुपर्‍यो। गाडीको ब्रेक फेल भएको अवस्थामा कयौंको जान जाने अवस्था छ। त्यसैले म व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु गाडीको नियमित परीक्षण गरौँ। र संचालनमा लैजाऔँ। त्यसले अकालमा मानिसहरूको ज्यान जाने अवस्था अन्त्य गर्न टेवा पुग्छ’ उनले भनिन्। 

मन्त्री यादवले प्रदुषण फैल्याउने खालका गाडीहरू संचालन गर्न नहुनेतर्फ पनि व्यवसायीहरूले ध्यान दिनुपर्ने बताइन्।  


प्रकाशित : आइतबार, चैत २७ २०७८१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend